बारा । बारा महागढीमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको छ । करिव एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेला नेपालसहित भारतबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच बर्षमा उपस्थित भई भाकल पूरा भएको खुशीयालीमा पशुवली दिने गर्छन् ।
शनिबार मध्यरातमा विशेष पूजापश्चात् आइतबार बिहान पञ्चबली र त्यसपछि राँगावली सुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ ।
शनिबार मध्यरात अर्थात आइतबार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगावली सुरु हुनेछ ।
तान्त्रिक विधिबाट पूजारीले गढीमाईलाई पञ्चवली दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशुवलि दिने परम्परा रहिआएको गढीमाईका मूल पूजारी मङ्गल चौधरीले बताए । उनका अनुसार सोमबार भने बोका बली दिइने छ ।
दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलका रुपमा परिचित छ ।
उक्त मेलामा एकदेखि डेढ करोड भक्तजनहरु आउने अनुमान गरिएको छ । तर गढीमाई दिइने बलिका विषयमा पशु अधिकारकर्मीहरुले चर्को विरोध गर्दै आइरहेका छन् ।
प्रतिक्रिया