काठमाडौं । आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटिले सरकारले मनपरी रुपमा कर लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले मनपरी कर आतंक बन्द गर्न माग गरे ।
शनिबार काठमाडौंको शान्तिवाटिकामा कर आतंक बन्द गर, जनताले तिरेको कर कहाँ छ ? भन्ने नाराका साथ प्रदर्शन गरेका हुन् । सोही क्रममा आम जनता पार्टीको केन्द्रीय सचिव देवी पण्डितले सरकारको करका कारण व्यापारीहरु धरासाही अवस्थामा पुगेको भन्दै यसलाई रोक्नको लागि आवाज उठाएको बताइन् ।
उनले भनिन्, ‘आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको व्यापार व्यवसायमा लगाइएको ‘अनावश्यक कर घटाउ, अर्थतन्त्र बचाउ’ भन्ने हो । व्यापार व्यवसायमाथि तीनै तहको सरकार मिलेर कर लगाइरहँदा व्यापारीहरु धरासायी अवस्थामा पुगेका छन् । त्यसैले पार्टीले कर विरुद्ध अथवा यसलाई रोक्नको लागि आवाज उठाएका हौं ।’
यस्तै, उनले व्यापार गर्नको लागि सहज वातावरण निर्माण होस र करको कारणले व्यवसाय छोडेर विदेश जान नपरोस भनेर यो आन्दोलन गरेको भन्दै यस्ता कार्यक्रमहरु पार्टीले अगाडिदेखि नै गर्दै आएको बताइन् ।
प्रतिक्रिया