Logo

मनोरञ्जन

‘आफ्नै स्वार्थ’का निर्देशक दास भन्छन् : नेपालमा वेभ सिरिजको भविष्य राम्रो छ


११ कार्तिक २०८१, आइतबार  

92
Shares

काठमाडौं । यति बेला बुबाआमा र सन्तानबिचको कथामा बनेको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’को चर्चा भइरहेको छ ।

रोशन दासको कथा तथा निर्देशनमा बनेको म्युजिकल फिल्ममा सन्तानको भविष्यका लागि बुबाआमाले गरेको संघर्ष र दुःख, बुढेसकालमा सन्तानको सहाराको आशा र सन्तान हुँदाहुँदै पनि बेसहारा बन्नुपरेको कथा समावेश गरिएको छ । 

शब्द रोशन दासका हुन् भने संगीत र संगीत संयोजनको काम राजन कार्कीले गरेका छन् । गीतमा ध्रुव विश्वकर्माको स्वर रहेको छ ।

म्यूजिकल फिल्ममा आमाबुबा र छोराको कथालाई समावेश गरेका कारण म्युजिकल फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको निर्देशक दासले बताए । उनले भने,‘अहिले हामीले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म बनाएका छौं । कथा र निर्देशन मेरो आफ्नै हो । खासगरी यस म्यूजिकल फिल्ममा आमाबुबा र छोराको कथालाई समावेश गरेका छौं । सबैको घरको र समाजको यथार्थतामा निर्माण गरिएको भएकाले पनि फिल्मले राम्रो प्रतिक्रियाहरु पाएका छौं । ऋण खोजेर हुर्काएर विदेश पठाएपछि छोराछोरीहरुले बाआमालाई मतलब नै नदिने अहिलेको यही विषयमा कथा लेखेको छु ।’

२२ वर्षीय दासले अहिलेसम्म ‘आफ्नै स्वार्थ’ लगायत ५० भन्दाबढी म्युजिक भिडियो तथा एउटा वेभ सिरिजको समेत निर्देशन गरिसकेको बताए ।

सानोमा ‘तितोसत्य’लगायतका हास्य टेलिश्रृंखला लगायतबाट प्रभावित भएर कला क्षेत्रमा लागेको दासको अनुभव छ । तर सिरिजहरुलाई पर्दामा हेर्नु र आफैं निर्माण गर्नुमा भने निकै फरक रहेको उनी बताउँछन् ।

म यो क्षेत्रमा आएको चाँही ‘तितो सत्य’ लगायतका सिरिजहरुबाट प्रभावित भएर हो । तर यहाँसम्म आइपुग्दा पर्दामा हेर्नु र आफैंले सिरिज निर्माण गर्नु निकै भिन्न कुरा रहेछ । म्युजिकल कथाहरु निर्माण गर्न निकै गाह्रो हुने रहेछ । पहिले पहिले आफैंलाई टिभीमा देखिन पाए हुन्थ्यो जस्तो रहर लाग्थ्यो । एक दुईवटा म्यूजिक भिडियो गरेको पनि थिए तर अब निर्देशक नै बन्नुछ लागेको हुँ,’ न्युज बैंकसँगको कुराकानीमा उनले भने ।

नेपालमा म्युजिक भिडियोको बजार सानो भएका कारण कलाकारहरुलाई लगानी उठाउन गाह्रो हुने भएपनि कन्टेन्टको आधारमा  चल्ने गरेको दासको बुझाई छ ।

उनी भन्छन्, ‘नेपालको सन्दर्भमा म्युजिक भिडियोको सानो बजार छ । वेभ सिरिजको बजार म्युजिक भिडियोको भन्दा केही ठुलो पनि छ । कुनै व्यवसाय जस्तै म्युजिक भिडियो क्षेत्र पनि गाह्रो त छ । तर चल्ने नचल्ने भनेको कन्टेन्ट भर पर्दछ । यही क्षेत्रमा कोही सफल हुने र कोही असफल हुने भन्ने पनि हुन्छ । हामी कस्तो विषयमा काम गर्छौं भन्ने कुरा हो । कन्टेन्ट चलेसी  लगानी उठ्दैन भन्ने हुँदैन ।’

नेपालीहरुको एउटा गलत कुरा के छ भने हाम्रो कन्टेन्टलाई विदेशका कन्टेन्टसँग तुलना गरिरहेका हुन्छौं । तर हाम्रो बजार र प्रविधि विदेशको जस्तो छ त ? मुख्य प्रश्न यही हो । यस्तोबेला गुणस्तरीय कन्टेन्ट निर्माण र आधुनिक प्रविधिसँगै साक्षात्कार गरेर अगाडि बढन् सक्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ११ : ०६ बजे