Logo

खेलकुद

१२ औं संस्करणको एन.एस.ए. कप पौडी प्रतियोगिता हुँदै



काठमाडौं । नेपाल पौडी संघले १२ औं संस्करणको एन.एस.ए. कप पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज १३ र १४ गते दुई दिन सातदोबाटो स्थित आउटडोर पौडी पोखरीमा खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

यो प्रतियोगितालाई नेपालमा पौडी खेलाडीको विकास, मुल्याङ्कन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएको आयोजकले जनाएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘यो प्रतियोगितालाई हामीले नेपालमा पौडी खेलाडीको वृत्ति विकास, मुल्याङ्कन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएका छौं ।’

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशहरुबाट ३५० खेलाडीहरुको सहभागिता रहने छ ।

विगतको प्रतियोगितामा झै यो प्रतियोगितामा पनि खेलाडीहरुको उत्कृष्ट प्रदर्शन संगै नयाँ राष्ट्रिय किर्तिमानहरु कायम गर्ने विश्वास आयोजक पौडी संघले लिएको छ ।

प्रतियोगितामा खुल्ला (महिला/पुरुष) र विभिन्न उमेर समूह (महिला/पुरुष) गरी ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयको आधारमा १ सेकेण्ड भन्दा कम समय भएमा रु. ५,०००।- (पाँच हजार), १ सेकेण्ड देखि ३ सेकेण्ड सम्मलाई रु.१०,०००।- (दश हजार) र ३ सेकेण्ड भन्दा माथिको फरकमा राष्ट्रिय किर्तिमान कायम गरेमा रु.२०,०००।- (बीस हजार) नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

प्रत्येक उमेर समूह र खुल्लामा सहभागी खेलाडीहरु मध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही रु.५,०००।- (पाँच हजार) नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : ३३ बजे