Logo

खेलकुद

सीई कर्पोरेट टि–१० प्रतियोगिता असोज ३ देखि



काठमाडौं । सीई कन्स्ट्रक्सन प्रा.लि. ले कर्पोरेट क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण ‘सीई कर्पोरेट टि–१० प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता असोज ३ र ४ गते काठमाडौं चुनिखेलको नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।

गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा ११ वटा टिम सहभागी थिए, जसमा सलीको इन्सुरेन्स विजेता तथा सीई कन्स्ट्रक्सन उप–विजेता बनेको थियो ।

‘हाम्रो उद्देश्य दैनिक गरिरहेको कामले दिक्क भएर कर्पोरेटका कर्मचारीहरूलाई क्रिकेटको माध्यमले जोड्ने, लुकेको प्रतिभा बाहिर ल्याउने, रमाउने माहोल बनाउने र ताजगी प्रदान गर्नु हो ।’ आयोजक टिमका एक सदस्य अमित पौडेलले बताए ।

उनले प्रतियोगिता कर्पोरेट र क्रिकेट क्षेत्र जोड्ने पुल समेत बन्ने विश्वास उनले गरेका छन् । साथै प्रतियोगितामार्फत च्यारिटी समेत गरिने उनले बताए ।

यस वर्षको प्रतियोगितामा स्तरीय प्रत्यक्ष प्रसारणको व्यवस्था अनलाइन र टेलिभिजनमा गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनको लागि ६० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ । प्रतियोगितामा सहभागी हुन भदौ २० गते सम्म इन्ट्री खुला राखिएको छ ।

प्रतियोगिताको फर्म्याट लिग कम नकआउट रहनेछ र खेल १० ओभरको हुनेछ । प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेयिंग सेटमा रहनेछन् । यस प्रतियोगितामा नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर रहनेछन् ।

सीई कन्स्ट्रक्सन प्रा.लि. नेपालमा ३२ वर्षदेखि हाइड्रोपावर, अपार्टमेन्ट, र अन्य विकासका क्षेत्रमा योगदान दिँदै आएको छ । कम्पनीले निर्माण, सम्पत्ति विकास, शिक्षा, वित्त र स्वास्थ्यजस्ता विविध क्षेत्रमा पनि काम गरिरहेको छ ।

सीई कन्स्ट्रक्सन प्रा।लि।अध्यक्ष विजय राज भण्डारीले यस प्रतियोगिताको आयोजनाले कर्पोरेट जीवनलाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगिता आयोजनाले कर्पोरेट जगतलाई क्रिकेटको यस पर्वका सहभागी हुन आह्वान गरेको छ, जहाँ खेलाडीहरूले आफ्नो प्रतिभा क्रिकेटको माध्यमबाट प्रस्तुत गर्न सक्नेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : १५ बजे