Logo

समाचार

विभागले एकैपटक ४६ अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाही गर्‍यो



काठमाडौँ । वैदेशिक रोजगार विभागले एकै पटक ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाही गरेको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अभिमुखीकरण तालिम दिने संस्थाहरूलाई विभागले कारबाही गरेको हो ।

विभागले गरेको अनुगमनको क्रममा तालिम लिएको भनेर हाजिरी गर्ने गरेको तर, तालिम लिने कोही पनि भेटिएका थिएनन् । हाजिरी गर्ने तर, तालिम लिने मान्छे कोही पनि नभेटिएपछि उनीहरूलाई कारबाही गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।

त्यसरी कारबाहीमा परेका संस्थाहरूको कारोबार रोक्का गरिएको सुवेदीले बताए ।

कारबाहीमा पर्नेहरूमा अधिकांश काठमाडौँ उपत्यकामा तालिम सञ्चालन गर्दै आएका संस्थाहरू परेका छन् । काठमाडौँ बाहेक धनुषा, बाँके, कास्की, गोर्खालगायतका जिल्लाका संस्थाहरू समेत छन् ।

कारबाहीमा पर्नेहरूमा वैदेशिक रोजगार बोर्डको सदस्यहरूले सञ्चालन गर्दै आएका तालिम सेन्टरहरू समेत परेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू विष्णु गोपाल गर्तौला र कल्पना पाण्डेले सञ्चालन गर्दै आएको संस्थाहरू परेका छन् । गर्तौलाले सञ्चालन गर्दै आएको बिग किरण एसोसिएन प्राली र पाण्डेले सञ्चालन गर्दै आएको कस्मिक ट्रेनिङ सेन्टरलाई समेत विभागले कारबाही गरेको हो ।

त्यस्तै वैदेशिक रोजगार विभागको सर्वाधिक खोजीमा रहेको एभिन्युज ट्रेनिङ एण्ड रिसर्च प्राली समेत कारबाहीमा परेको छ । एभिन्युजका सञ्चालक प्रेम प्रसाद बाँस्तोला महासंघको सल्लाहकार समेत हुन् ।

कारबाहीमा परेकाहरूलाई सुध्रिनका लागि विभागले मौका समेत दिएको छ । अर्को पटकको अनुगमनको क्रममा विगतकै समस्या दोहोरिएको खण्डमा ती संस्थाहरूलाई खारेज गर्ने विभागको तयारी छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पुर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्न १४३ वटा संस्थाहरू विभागमा सूचीकृत छन् । हालको विद्यमान कानुन अनुसार उनीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा तीन दिनको अभिमुखीकरण तालिम दिनुपर्ने हुन्छ । कतिपय संस्थाहरूले तालिम नदिने तर, हाजिरी मात्रै गर्दै आएका छन् । विभागले गरेको अनुगमनको क्रममा समेत मान्छे नहुने तर, हाजिरी हेर्दा तालिम लिएको देखिने गरेको पाइएको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ०५ बजे