Logo

खेलकुद

‘आदिलको निलम्बन फुकुवा गर्ने कुरामा क्यान सकारात्मक छ’



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वअलराउन्डर आदिल अन्सारीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने पक्षमा रहेको जनाएको छ ।

दुई वर्षअघि भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि आदिल क्यानबाट निलम्बित भएका थिए । तर, गत असार २१ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलमाथिको निलम्बन फुकुवा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

उक्त बैठकले निलम्बन फुकुवा सम्बन्धमा आवश्यक निर्णयअधिकार अनुशासन समितिलाई दिने र समितिले एक हप्ताभित्र निर्णय गर्नुपर्ने जनाएको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले अनुशासन समितिबाट केही दिनमै यसबारे प्रतिवेदन आउने बताए ।

दुई वर्षअघि भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वक्रिकेटर मेहबुब आलमसँगै अन्सारीलाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले आलम र अन्सारीसँगै नितेश साह गुप्ता, नवीन कँडेल, रवी माझीलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १२ : ०६ बजे