Logo

बागमती प्रदेश

बागमतीमा एमालेका मन्त्रीले आज राजीनामा बुझाउँदै, मुख्यमन्त्रीले विश्वासको मत लिने मिति तय गर्ने



काठमाडौं । संघमा नयाँ सत्ता समिकरण बनेपछि नेकपा (एमाले) का मन्त्रीहरू आज बागमती प्रदेश सरकारबाट बाहिरिदैछन् । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिदैछन् ।

एमाले मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेलसँगको छलफलपछि आज राजीनामा दिने लागेका हुन्। प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन्।

संघमा सत्ता समीकरणमा परिवर्तन भएपनि बागमती प्रदेशको सत्तारुढ दल माओवादी केन्द्रको आइतवार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेका हुन् ।

उनले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समयबारे एमालेका मन्त्रीहरूले आज राजीनामा दिएपछि निर्णय गर्नेछन् । गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले एमाले, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनसहित विश्वासको मत पाएका थिए।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : २० बजे