Logo

विशेष

बडाहाकिमले छोरालाई जागिर त दिएनन्, सिकाईदिए अंग्रेजी


२८ बैशाख २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ विश्ववन्धु थापाले परिवर्तन भन्दैमा त्यो जनताको जीवन उकास्न सहयोगी भएन भने त्यसको कुनै अर्थ नहुने बताएका छन् ।

आज यहाँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ९७ वर्षिय थापाले उद्योग, शिक्षा र व्यापार व्यवसाय खोल्दा देश र जनताको समेत हित हुनेगरी हुनुपर्ने चर्चा गरे ।

नेपालमा केबल कार सेवाका प्रथम प्रयोक्ता स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा आधारित पुस्तक विमोचन गर्दै थापाले केही पुराना अनुभव पनि सुनाए । २००८ सालमा गोरखाको बडाहाकिम भएर बस्दा केवलकारका संस्थापक श्रेष्ठलाई आफूले सानैमा अंग्रेजी भाषा सिकाएको प्रसंग कोट्याउँदै थापाले लक्ष्मणबाबु जीवनभर आफ्नो साथीजस्तो रहेको तर परिवारभन्दा नजिकको सम्बन्ध बनेको सुनाए । उनले केवलकार स्थापना गरेर सफलता पाएकोले लक्ष्मणबाबुको दूरदर्शी योजनाले देश र जनतालाई लाभ पुर्याएको बताए ।

‘लक्ष्मणका पिताले मेरो छोरालाई जागिर दिनुपर्यो भन्दै सानो केटालाई लिएर मसँग आए । मान्छे सानो छ, पढ्नुपर्ने उमेरको छ कसरी जागिर दिने बरु पढाउ न भनेर सल्लाह दिएँ । पढ्न त पढ्छु नै भन्छ तर अंग्रेजी पढ्छ रे भनेर उनले भने । मैले भने म अलिअलि अंग्रेजी जान्दछु, साँझतिर सधैं मेरामा पठाईदिनु म पढाईदिउँला नि भने । भोलिपल्ट देखि त्यो सानो केटो आउन थाल्यो र मसँग अंग्रेजी पढ्यो । सिक्यो र पछि उच्च शिक्षा पनि पढ्यो । गरिखायो, सफल व्यावसायी भयो, त्यो व्यक्ति लक्ष्मणबाबु हो’ वयोवृध्द नेता थापाले विगतलाई सर्सरी सम्झिए ।

लक्ष्मण बाबु श्रेष्ठले २६ वर्षअघि गोरखाको मनकामना मन्दिरसम्म पुग्नेगरी केबल कारको स्थापना गरेका थिए । यसलाई उदाहरण मानेर यतिबेला देशका विभिन्न भागमा केवलकारको स्थापना भैरहेको छ ।

कुटनीतिज्ञ प्राध्यापक जयराज आचार्य र विवेक गौतमले अनुसन्धान गरेर तयार गरेको पुस्तक गरिखाने मानिसका लागि प्रेरणा स्रोत हुने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठले बताए । लक्ष्मणबाबु आफ्ना सहपाठी भएको सम्झँदै श्रेष्ठले आफ्नो खुट्टामा उभिएर गरिखाने एक उदाहरणीय व्यवसायी भनेर उनलाई सम्झिए ।

प्राध्यापक आचार्यले लक्ष्मणबाबुको कर्मशील व्यक्तित्वलाई पुस्तकका रुपमा सार्वजनिक गर्न पाएकामा खुशी प्रकट गरे ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले केवलकारका संस्थापक श्रेष्ठसँग आफ्नो पारिवारीक सम्बन्ध भएकामा गौरव लागेको सुनाए । ‘एकजना सफल व्यवसायीको नातेदार सदस्य हुनु मेरा लागि गौरवको बिषय हो’ उनले भने ।

छोरा राजेशबाबु श्रेष्ठले आफ्ना पिताको सफलताको चर्चा गर्दै पदचाप पछ्याईरहेको बताए । भतिज ध्रुबबाबु श्रेष्ठले लामो संगत गर्दाका क्षणहरु सम्झिए भने जेठी छोरीले कर्मशील पिता आफ्नो प्रेरणाको स्रोत भएको बताईन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २३ बजे