Logo

विशेष

जीवन विज्ञान परिवारले मनायो प्रकाश दिवस



काठमाडौं । जीवन विज्ञान परिवारले मंगलबार रमेश नेपाल गुरुदेवको प्रकाश दिवस मनाएको छ ।

आध्यात्मिक वातावरणले ओतप्रोत प्रकाश दिवसका अवसरमा जीवन विकास विशेषज्ञ सद्गुरुदेव एल पी भानु शर्माले प्रकाश दिवसको महत्वबारे प्रकाश पार्दै परम प्रकाशमा उपलब्ध हुनु नै जीवनमा पूर्णताको दिन हुने बताए ।

हरेक मान्छेमा रहेका दुःख, चिन्ता, तनावलाई स्वागत गर्ने ह्रृदय चाहिने उल्लेख गर्दै ह्रृदयले नै मान्छेलाई अब सुध्रिनुपर्ने बेला आएको देखाउनसक्ने बताएका थिए ।

प्रत्येक मनुष्यले जे खोजिरहेको छ, त्यही विराट तत्त्व जीवनमा उत्रिनुलाई नै प्रकाश दिवस भनिने सद्गुरुदेव शर्माको भनाइ थियो । परम प्रकाशमा उपलब्ध हुनु नै जीवनमा पूर्णताको दिन हुने शर्माको भनाइ थियो । प्रकाशको परम घटनासँगै मनमा ज्ञात–ज्ञातव्य, कृत–कृत्य र प्राप्य–प्राप्तव्य तीनवटा अनुभूतिले डेरा हाल्ने शर्माले उल्लेख गरे ।

‘प्रकाश दिवस’मा आफूभित्रको प्रकाश खोज्न र नाच्न थाल्नुस् भनेर शुरु गरिएको दिन भएको उनको भनाइ थियो ।

प्रकाशमा उपलब्ध भए व्यक्ति स्वयं वैकुण्ठ हुने शर्माको ठम्याइ थियो । प्रकाश घटित भएपछि जीवन नै खुसी र मृत्यु नै अमृत बन्ने सद्गुरुदेव शर्माले दाबी गरे ।

परम प्रकाशमा उपलब्ध हुने व्यक्तिमा रोग, कष्ट, तनाव, दुःख जरैदेखि हट्ने तथा असफलता सफलतामा र अफ्ठ्यारा सफ्ठ्यारामा रुपान्तरित हुने उनले बताए ।

कार्यक्रममा नेवारी संस्कृतिमा प्रचलित लाखे नाच, धिमे बाजा र नृत्यहरुका साथै सुमधुर भजनहरुसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : २४ बजे