Logo

Breaking News 1

बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु



काठमाडौं । बालकविरुद्ध हुने हिंसाका लागि नेपालका आठ संस्थाले सामूहिक अभियान शुरु गरेका छन् । प्रत्येक बर्षको अप्रिल १६ तारिखका दिन मनाइने विश्व नीलो छाता दिवस २४ का अवसरमा एक कार्यक्रमको आयोजना गरी बालकहरुमाथि हुने सबैखाले हिंसा विरुद्ध एकजुट हुने प्रतिवद्धता जनाएका हुन् ।

‘हामी साथीभाइ’ नामक संस्थाको संयोजन र क्याम्पेनिङ फर चेन्ज संस्थाको सह संयोजनमा भएको ‘भाइलेन्स अगेन्स ब्याइज’ अर्थात बालकविरुद्ध हुने हिंसाका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा हाल आठवटा संस्था आबद्ध भइसकेका छन् । क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक एवम अभियानका सह संयोजक ईशान रेग्मीले अप्रिल १६ तारिखका दिनदेखि शुरु गरिएको बालकहरु माथि हुने हिंसा विरुद्धको अभियानमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकिकृत क्रियाकलापबाट अभियानलाई शसक्त बनाइने बताए ।

अभियानमा आवद्ध सिविन नेपालका सदस्य सागर भण्डारीले केटा मान्छे सँधै सुरक्षित छ भन्ने भाष्यलाई चिर्न र उनीहरुमाथि हुने सबैखाले हिंसा एवम् दुव्र्यवहार न्यूनीकरण गर्न अभियान शुरु गरिएको बताए । ‘केटा मान्छे सुरक्षित छ, शक्ति प्रदर्शक हो, आफ्नो समस्या आफैं समाधान गर्न सक्छ भन्ने बुझाइमा सिमित रहँदा बालकहरुले हिंसा व्यहोरिरहेका छन् । यौन शोषण र दुव्र्यवहार व्यहोरिरहेका छन् । अनलाइनबाट हुने यौन दुव्र्यवहार वालिका भन्दा बालक बढी रहेको तथ्यांक छ । यस्तो अवस्थामा हामी एकजुट हुनु जरुरी छ,’ उनले भने ।

भ्वाइस अफ चिल्ड्रेनकी सदस्य एवम अभियन्ता कृति भट्टराईले ‘ब्लु अम्रेला डे’ अर्थात नीलो छाता दिवसका बारेमा जानकारी दिंदै बालकहरु निश्चित ठाउँमा नभइ जहाँसुकै दुव्र्यवहार र यौन हिंसाको शिकार भइरहेको बताइन । उनले विश्वका ८५ प्रतिशत सडक बालकहरु यौन दुव्र्यवहारमा पर्ने गरेको जानकारी दिइन । ‘बालिकाहरुको तुलनामा बालकहरुको उजुरी कम पर्ने गरेको र बालकहरुको अनुभवलाई साधारण रुपले लिने गरेको पाइन्छ । कुनैपनि हानिकारक र जोखिमयुक्त तरिकाबाट लिइँदैन । तथापी हिंसाका घटनाहरु भने बढिरहेका छन्,’ उनले भनिन ।

नेपाल प्रहरी महिला वालवालिका जेष्ठ नागरिक सेवा निर्देशानलयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९।०८० मा ३३ जना बालकहरु यौन हिंसाको शिकार भएको पनि कार्यक्रममा जानकारी गराइयो । विश्वभर १३ जना बालकमध्ये एक जना वालक १८ बर्ष हुनुअघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको अनुमान गरिन्छ ।

मंगलबार आयोजित कार्यक्रममा बालकमाथि हुने सबैखाले हिंसा न्यूनीकरणका लागि ‘नेसनल नेटवर्क फर इन्डिङ भाइलेन्स अगेन्स ब्वाइज(भ्याब नेटवर्क)को लोगो पनि सर्वजनिक गरिएको छ । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाँ, राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, अभियानमा सन्जोग ठकुरीलगायतले अभियानका आवश्यक्ता र महत्वका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : २६ बजे