Logo

विशेष

‘रुपान्तरणका लागि प्राप्त ज्ञानलाई आत्मसात गरौं’



काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालले नेपालले सामाजिक र आर्थिक रुपान्तरण हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट प्राप्त ज्ञान र अनुभवलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आइतबार साइनो नेपाल मिडिया सोसाइटी र नेपाल राष्ट्रिय मण्डप चीनद्धारा आयोजित कार्यक्रममा उनले सामाजिक–आर्थिक रुपान्तरण आवश्यक रहेको उल्लेख गरे ।  व्यवसायिक शिक्षामा जोड दिए रुपान्तरण सम्भव हुने भन्दै उनले छिमेकी मुलुकहरुबाट प्राप्त ज्ञान र अनुभवलाई उपयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेको सरकारको मुख्य योजना भनेको देशलाई समृद्ध बनाउने, सामाजिक आर्थिक रुपान्तरणको माध्यमबाट समृद्धि हासिल गर्ने भन्ने छ । रुपान्तरण भनेको पहिलो कुरा नेपाली जनताको क्षमता, त्यसमा पनि शिक्षाको योग्यता अध्ययन र व्यवसायिक शिक्षा छ ।  त्यसैले त्यो लेबलमा हामीले हाम्रा नजिकका मित्र राष्ट्रहरुबाट प्राप्त भएको ज्ञान र उपलब्ध र हासिल भइरहेको अनुभवलाई आत्मसात गरेर अगाडि बढ्न सक्छौं ।’

सरकारले मानव संसाधानलाई पुँजीमा निर्माण गर्ने र त्यो पुँजीलाई ‘सहि व्यक्ति र सहि ठाउँ’को अवधारणा अनुसार अगाडि बढेको बताए । अवधारणाअनुसार धेरै रोजगारी सृजना गर्ने, उद्यमशीलताको प्रवर्धन गर्ने र त्यसका लागि सम्भव भएजति मित्र राष्ट्रहरुसँग लाभान्वित हुने गरी सम्बन्ध विस्तार गरेर जाने सरकारको नीति रहेको पनि उनले बताए ।

उनले चीनसँग नेपाल निकै नजिक रहेको बताएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : ५१ बजे