Logo

Breaking News 1

सरकारले चियाको महत्व कहिल्यै बुझ्न सकेन : उदय चापागाइँ



–नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ
–नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो ।
–चिया व्यवसायी र सरकारबीच कहिल्यै पनि सहकार्य हुन सकेन ।

म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थें । आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो । पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो । परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो । त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो । वि.स. २०२८ सालतिर पहिलो पटक म इलामको चियाबारीमा पुगेको हुँ । चियाका बुट्टाहरु हेरेर म भविष्य सोच्ने गर्दथें । त्यहीबाट मोहित भएर चिया व्यवसायलाई आफ्नो कर्मको रुपमा अंगाले ।

व्यावसायिक सिलसिलामा पछि म जर्मनी जाँदाखेरि त्यहाँ दार्जिलिङको चिया पाइने रहेछ । मेरो झापा भद्रपुर घर भएपनि बेला बेला म दार्जिलिङ पनि घुम्न गइरहन्थें । दार्जिलिङको चियाबारी पनि हेरेको थिए । फेरि म आफैं पनि चियाप्रेमी मान्छे हुँ । अनि जर्मनीमा मैंले त्यसबेला पिएको चिया आसामको रहेछ । खासमा भन्नुपर्दा ठाउँ ठाउँको चियाबारीबाट नै प्रभावित भएर म चिया व्यवसायमा लागेको हुँ ।

झापामा चियाबारीमै लड्दै, खेल्दै हुर्किएको हुँ । तर व्यवसायका रुपमा चियाबारीमा प्रवेश गरेको चाँही आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९४ बाट हो । व्यवसायका रुपमा सुरु गर्दा ‘मुना चिया’ भन्ने थियो । त्यसको पसल काठमाडौंको न्यूरोडमा थियोे । त्यहाँ थरि थरिका मान्छेहर आउँथे । त्यहाँ मैंले मुना चिया र पहाडको चिया(अर्थोडक्स)को व्यवसाय गरें । व्यवसाय गर्दै जाँदा पछि मलाई चियाको विषयमा अध्ययन नै गर्ने मन लाग्यो । पछि म दार्जिलिङको चियाबारे हेरे, घुमे, बुझे । त्यहाँको चिया बेलायतको महारानीले पिउनुहुन्छ भन्ने सुनेको थिए । त्यहाँ पुगेर त्यो चियाको स्वाद पनि लिए । पछि इलामतिर घुम्न जाँदा झापाको चिया र ती दुई ठाउँको चियामा खासै भिन्नता देखिन ।

अध्ययन र उद्योग सँगसँगै

विभिन्न समयमा जर्मनी जाने अवसर मिल्यो । ‘सिचुआन विश्वविद्यालयमा चियाबारे अध्ययन पनि गरे । अध्ययनपछि म हामी चिया उद्योगी र व्यवसायीका रुपमा उत्कृष्ट हुन सकिन्छ भन्ने निष्कर्षमा पुगें । चिया उद्यमीका रुपमा काम सुरु गरेपछि ट्रकमा चिया लोड गरेर आफैं कोलकत्ता जान्थें । त्यहाँबाट जहाजमा लोड गरेर जर्मनी पुर्याउँथे । त्यसमा हामी २० जना मन मिल्ने साथीहरु थियौं । इलामबाट कोलकत्ता र त्यहाँबाट जर्मनीमा हामीले बजार फैलायौं ।

विश्व बजारमा गइसकेपछि गुणस्तरका सवालमा प्रशस्त प्रश्नहरु आए । जसका कारण आफैं केही नयाँ काम सुरु गर्ने लक्ष्य अनुरुप भारतको बैङ्लोरबाट प्राङारिक मल बनाउने मान्छे बोलाएर मल उत्पादनमा लागें । मल उत्पादनका लागि पहिले मंैले किसानहरुलाई निशुल्क गाई वितरण गरे । चिया उित्पादन गर्नका लागि सुहाउँदो वातावरण तयार गर्दै गयौं । गाईको गोबर, गाईको पिसाब र अन्य विभिन्न घासपातहरुबाट मल बनाउने कामलाई निरन्तरता दियौं । मैले भारतबाट बोलाएका मान्छेले नेपाली किसानका घर घरै गएर प्राङगरिक मल बनाउन सिकाइदिए । त्यही मलको प्रयोगबाट उत्पादित चिया गोर्खा टी स्टेटमार्फत विश्व बजारमा लगिरहेका छौं ।

अहिले मैले उत्पादन गर्ने चिया पाँच वटा देशरुमा जान्छ । इलामको सुन्दरपानी भन्ने ठाउँमा मैले उत्पादन गर्ने चिया र त्यसको कारखाना छ । सुन्दरपानीकै ब्राण्डको नामले चिया सप्लाई हुन्छ । यसो गदागर्दै चिया बनाउनमा दक्षिण एसियामै एक नम्बरमा पर्न सफल भइसकेका छौं । चिया उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन गरिरहेका छौं । यद्यपी, हामी अझैपनि किसानमा निर्भर छौं तर दार्जिलिङका ठूला ठूला बगान नै छन् ।

चियाबाट समृद्धि टाढा छैन

हाम्रो समाजमा चियाले मानिसलाई हानी गर्छ भन्ने भाष्य मात्र निर्माण गरिएको छ । चिया हाम्रो लागि स्वास्थ्यवद्धक छ । श्रीलंकाले त कोरोना भाइरस संक्रमण फैलिरहेको बेलामा ‘चिया खाउ कोरोना भगाऔं’ अभियान नै चलायो । चिया यति फाइदाजन छ तर हामीले चियालाई प्राकृतिक रुपमै उत्पादन, भण्डारण र सप्लाई गर्न सकियो भने नेपालको समृद्धि धेरै टाढा छैन ।

मैंले अर्थात मेरो काराखानले उत्पादन गर्ने चिया पुरै अर्गानिक हो । तीनवटा सहकारीहरु चियाखेतीमा आवद्ध गराएका छौं । सबै किसानहरु सहकारीमा आवद्ध हुनुपर्छ । सबै चिया हामी किन्छौं । तर राम्रो बजार र बजार मूल्य दिन्छौं भनेर पनि आए तर प्रतिस्पर्धा गर्न कठिन छ । हाम्रो कारखानको चियाको जाँच र परीक्षण नै जापान अमेरिका, बेलायत, जर्मनी लगायतका देशरुबाट हुन्छ । त्यसैले मेरो चिया पुर्णतः अर्गानिक छ । यसले मलाई व्यवसायीक रुपमा विभिन्न चुनौति पनि छन् ।

चियाको बजारीकरणमा ठुला चुनौती मैले देखेको छु । चिया किन्दै आएका उद्योगी व्यवसायीहरुले किसानलाई अर्गानिक चिया उत्पादन गर्न सहयोग नगर्ने, उचित बजार मूल्य नदिने लगायतका समस्याहरु भोगिरहेका छन् । सहयोगी चिया उद्योगीहरु एकदमै कम मात्र हुनुहुन्छ । मेरै छिमेकमा पनि चियामा विषादीहरु प्रयोग गर्नुहुन्छ । चियामा केमिकल फेर्टिलाइज, युरियाहरु प्रयोग गर्नुहुन्छ । कुनैपनि रोग लाग्यो भने स्प्रे गर्नुहु्न्छ ।

कन्यामको चियाबारी सरकारको हो । त्यहाँ घुम्दा आँखा पोल्छ, नाक पोल्छ । विषादीका कारण त्यो चियाबारी मुनि बस्ने मान्छेहरुले विषादी मिसिएको पानी पिउन बाध्य छन् । वातावरण नै धुमिल भइसकेको छ । मैले श्रीलंकामा दुईहप्ता हेरे, घुमे । त्यहाँ किसानहरुलाई सरकारको साथ र सहयोग छ । प्राङ्गारिक मलदेखि लिएर आवश्यक परिपुर्तीसम्म पाउने व्यवस्था छ । यद्यपी, त्यो कष्टपूर्ण र महंगो पनि छ । नेपालमा पनि सरकारले सचेतना, सहयोग गरिदियो भने भएका उद्योगहरु प्राङ्गारिक हुनेछन् । चियाले मूल्य पाउनेछ ।

मेरो छिमेकीहरुले चियाको मूल्य बजारमा नौ सय रुपैयाँ पनि पाउँदैन । मैले आँखा चिम्लेर १२ सय पाउँछु नि । फेरि अरुले मलाई तैले त १२ सय पाउँछस भन्छन् । त्यसमा लगाएको लगानी कति छ त्यो देख्दैनन् । म किसानलाई हरियो पत्तिको एक सय सात रुपैयाँ दिन्छु । म मार्केटबाट बोनस दिलाउँछु । मेरो प्राङ्गारिकमा जति पनि प्रमाणीकरण गर्न लाउने देशका नाम लिए मैले त्यो सबै म ब्यहोर्छु ।

यसमा सरकारले केही गर्नुपर्दैन । बाहिर पठाउने चियामा गुणस्तर राम्रो दिएमात्रै पनि पुग्छ । मैले त त्यो गरिरहेको छु । मैले मात्र गरेर त हुँदैन । हामीले यस कुरामा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर कन्भिन्स गराएका छौं । तर हचुवाको भरमा विषादी प्रयोग गरिरहेका छन् । तर सुविधा बराबरी दिइन्छ । यसकारण पनि चिया उत्पादनमा किसानको आकर्षण घट्दो छ । हाम्रो चियाबारीमा काम गर्नेहरुले हाम्रो ब्राण्डलाई अर्कै नाम राखिसक्यो । उनीहरुले त अब कति चिया दिन सक्छस भनेर पनि सोध्न थालिसके ।

सरकारले एउटा नीति तथा कायक्रम बनाइदिए राहत हुन्थ्यो । यही काम मैले श्रीलंकामा गर्न पाए । त्यहाँ सुरुमा म एकदम न्यून ब्याजमा पैसा पाउँछु । पछि मैले उत्पादन गरेर बेचेको चियामा मलाई राम्रो मूल्य दिन्छ । सुरुमा मलाई २०–२५ प्रतिशत दिन्छ । भूपि शेरचनले भनेजस्तै–‘म देशैभरी इलामै इलाम छर्न चाहन्छु’ भनेजस्तै पुरै इलामलाई अर्गानिक गर्न सक्नुपर्छ । सक्यौं भने ७० लाख किलो चिया उत्पादन हुन्छ । यतिबेला लगभग १२ देखि १५ हजार किसान आवद्ध छन् उनीहरुले राम्रो मूल्य पाउन सक्छन । देशबाट अहिले वर्षेनी ४ अर्बको चिया बाहिर जान्छ भने यसमा सरकारले ठुलो लगानी र ठुलो नीति ल्याउनै पर्दैन ।

चिया नीतिमा सरकार गम्भीर छैन

नेपालमा पहिले चिया नीति थिएन । वि.स. २०५७ सालमा पहिलो पटक नेपालमा चिया नीति बनेको हो । त्यतिबेलाको टी बोर्ड(चिया तथा कफि विकास बोर्ड)को अध्यक्ष भुवन पाठक हुनुहुन्थ्यो । त्यो नीति निर्माणमा मेरो पनि भूमिका छ । त्यो नीति एकदम राम्रो बनाएका थियौं । श्रीलंक र भारतको पनि अध्ययन गरेर बनाएका थियौं । त्यो नीतिलाई पछि तत्कालिन कृषिमन्त्रीमार्फत मन्त्रिपरिषदबाट पास पनि भयो । पछि लागु हुने अवस्थामा पनि गयो । चिया नीतिको दफा ४ को उपदफा ४ मा के भनेका थियौं भने चियाखेतीमा आवद्ध किसान र सरकारको ५० प्रतिशत लगानीमा चल्ने गरि चिया बोर्ड गठन गरौं भन्ने थियो । पछि राजनीति दलहरुको हस्तक्षेप गरे ।

जसका कारण न चिया खेती लागू भयो न चिया बोर्ड नै गठन गर्न सकियो । चिया नीति बनेको २३ वर्षसम्म पनि चिया नीति लागु हुन सकेको छैन । २३ वर्ष बितिसक्दा हाम्रो अनुभवले के भन्छ भने सरकारले चिया नीतिमा काम गरेन । टी बोर्डमा चिया बारे केही जानकारी नभएका मान्छेलाई नियुक्त गर्यो । कुनैबेला मसँग इलाम जाँदा चियाको बोट देखाएर अध्यक्षले नै सोध्नुभयो–‘चिया कहाँ फल्छ ?’

विश्वभरका सबै देशका चियाहरु आफ्नै ब्राण्ड बनाएर विश्व बजारमा जान्छन् । तर हामी मकैबारी नाम लिएर चिया बेच्न जानु ? ब्राण्डनेम राख्नुपर्दैन ? भन्ने कुरामा म आफैंले अग्रसरता लिए । पहाडी चियाको म अध्यक्ष पनि थिए । मैले धेरै काम गरे । विदेश निर्यात गर्ने चियाको नाम ‘नेपाल टी’ भनेर पठाउने भनेर प्रस्ताव गरें । त्यो नाम पनि टी बोर्डका अध्यक्षले अस्वीकार गरिदिए । किनभने उनी चियाबारे अनभिज्ञ थिए । पटक पटक यस्तो भयो । चियाबारे जानकारी नभएकाहरुका कारण समस्या अहिलेपनि जारी छ ।

एकताका मलाई एनओसी(नो अब्जेक्सन लेटर) दिइएन । पछि हामीले नेपाल टी क्वालिटी फरम दि हिमालय भन्ने ब्राण्ड बनायौं । त्यही ब्राण्डलाई टेकेर व्यवसाय गर्यौं । तर त्यो नीति आजसम्म पनि लागु हुन सकिरहेको छैन । अहिले जति पनि दलहरु सरकारमा जान्छन् जो कृषिमन्त्री हुन्छन् । उनीहरुले अगाडिको ढोकाबाट हुन्छ कि पछाडिको ढोकाबाट हुन्छ, त्यही बाटोबाट टी बोर्डमा पदाधिकारी नियुक्त गर्नुहुन्छ । हामी सहि बाटो हिड्न सकेनौं । चिया व्यवसायीसँग सम्बन्धित छ वटा संगठनका साथीहरु मिलेर यसो गर्न पाइदैन भनेर कृषिमन्त्रीलाई भनेका छौं । अनि हामीले अब पनि चिया नीति अनुसार काम गर्नुभयो भने टि बोर्डलाई नै बहिस्कार गर्छौं भनिसकेका छौं । हामीले सहि बाटोमा लाने प्रयास गर्दैछौं ।

विश्व बजारमा फड्को

नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो । विश्वका विभिन्न देशरुले सहभागी हुनेक्रम जारी छ । केही समारोहमा त नेपालले गोल्ड मेडल पाएको छ । मेरो आफ्नै कारखानाले गोल्ड मेडल पायो । अब हामीलाई विश्व बजारमा कसैले पनि चुनौती गर्न सक्दैन । मैले विश्वका सबै मुलुकसँग वार्ता गरेर हामीलाई चुनौति दिन सक्नुहुन्न पनि भनिसकेको छु । विश्वमा भेटिएका चिया व्यवसायीहरुलाई सगरमाथाको बेसक्याम्पमा लगेर चियाको स्वाद चखाउँछु भन्यौं । चखायौं पनि । अहिले विभिन्न देशका पत्रकार र व्यवसायीहरुले त्यस्ता समारोहहरु अझै गरौं भनिरहेका छन् । तर कसरी गर्ने ? अहिले प्रदेश एक सरकारले चिया अन्तरक्रियाका लागि दुई करोड ५० लाख रुपैयाँ छुट्याएको छ भन्ने सुन्यौं । त्यसको जिम्म फेरि एनआएनएलाई दिएछ । त्यो गैरआवासीय संस्थाले अन्तर्राष्ट्रिय बारहरुसँग समन्वय गरेर अन्तरक्रिया गर्नसक्छ ? हामीले उहाँहरुलाई हाम्रो अनुभव पनि लिएर गर्न सुझाव दिएका थियौं । आउँदो जेठमा त्यो कार्यक्रम हुने भनिएको छ । हेरौं कसरी गर्नुहुन्छ ।

चिया खेतीको बारेमा सहकार्यका लागि भारतलगायतका छिमेकी राष्ट्रहरु पनि तत्पर देखिएका छन् । पहिले एकचोटी भारतसँग सहकार्य समेत भएको थियो । तर त्यो सम्झौताको फाइल सिंदरबारमै अड्किएछ । पछि हामीले खोज्दा फाइल नै हराएछ । अब फाइल हराएपनि भारतले प्रक्रिया अगाडि बढाइसकेको छ । छिट्टै चियाखेती विश्वमै ब्राण्ड हुनेछ भन्ने आशा लिएका छौं । तर हाम्रो ८० प्रतिशत बजार भारत हो । भारतले अब चिया लिएर जाने ट्रकबाट नमुना लिएर त्यसको परीक्षणको नतिजा नआउञ्जेलसम्म नलिने नीति अपनाएको छ । यसकारण नेपालमा रहेका चिया उद्योगहरु बन्द हुने अवस्थामा छन् । यसका लागि सरकारले तादरुकता देखाउन जरुरी छ ।

चिया व्यवसायीहरुको सरकारसँग कहिल्यै पनि सहकार्य हुन सकेन । नेपालका विभिन्न सरकारहरुले चिया खेतीलाई प्राथमिकता दिएको भएपनि अहिलेका सरकारले त्यति प्राथमिकतामा राखेको पाइँदैन । अहिलेको अवस्थामा झन राम्रो व्यवस्थाको कल्पना गरेका थियौं तर हामे अनुभवले के भन्छ भने सरकारबाट हामीले साथ र सहयोग पाएनौं । हाम्रो आर्थिक कुटनीति कमजोर छ । श्रीलंकाले आफ्नो राजदुतलाई नै चिया बेच्न अनुमति दिन्छ । आफ्नो राष्ट्रिय दिवसमा पनि चिया उपहार दिन्छ । हाम्रो नेपालमा पनि ३० भन्दा बढी देशका दुतावासहरु छन् । उहाँहरुसँग सहकार्य गर्नुपर्दछ । चिया व्यवसायलाई पर्यटनसँग जोड्न सकियो भने अपार सम्भावना छन् । मैले यसलाई पनि सँगै लिएर अघि बढेको छु ।

(नेपाल न्यूज बैंकले चिया उद्योगी एवम व्यवसायी उदय चापागार्इँसँग गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ३७ बजे