Logo

Breaking News 1

जरलहवामा आगलागीबाट दुईवटा बस्ती नै खरानी, ९७ घर जले



महोत्तरी । मटिहानी नगरपालिका–६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुईवटा बस्ती नै जलेर खरानी भएका छन् ।

मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दाहेर्दै जलेर खरानी भएका हुन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरीले संकलन गरेको तथ्यांकअनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएका जानकारी दिए ।

‘बुधबार दिउँसोबाट लागेको करिब ७ घण्टापछि नियन्त्रणमा आयो,’ उनले भने, ‘अहिलेसम्म ९७ घर जलेर नष्ट भएको तथ्यांक संकलन भएको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ ।’ उनका अनुसार पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । बुधबार साँझसम्म आगो नियन्त्रणमै समय गुज्रिएका कारण पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाएका छन् ।

‘रेडक्रसले केही त्रिपाल बितरण गरेको छ । लत्ताकपडाहरु केही उपलब्ध गराउन सकिएको छैन,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘खानका लागि राति दालमोठ र चिउरा बितरण गरिएको थियो । अब व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ ।’
उनका अनुसार नगरपालिकाले पीडितहरूलाई तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी छ भने जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामाग्री जुटाइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ८ : ३४ बजे