Logo

Breaking News 1

यी पाँचवटा प्रदेशमा छिटपुटदेखि हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना 



काठमाडाैं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ६ : १२ बजे