Logo

Breaking News 1

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज



काठमाडौं । २० घन्टा नेपाल रहनेगरी काठमाडौं उत्रिएका कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन् ।

निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् । औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक डेढ सयजनाको टोली भ्रमणमा छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान पनि सहभागी छन् ।

राजासहितको टोलीले द्विपक्षीय वार्ता शीतलनिवासमा गर्दैछ । साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज दिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ । बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ४ : ५४ बजे