Logo

खेलकुद

इटालियन सिरिज ‘ए’ को उपाधि इन्टर मिलानलाई



काठमाडौं । इटालियन सिरिज ‘ए’को उपाधि इन्टर मिलानले जितेको छ । जारी लिगमा ५ खेल अगावै इन्टर मिलानले उपाधि जितेको हो । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेपछि २० औं पटक सिरी ‘ए’को उपाधि जित्न सफल भयो ।

इन्टर मिलानले ३३ खेलबाट ८६ अंक बनाउँदा एसी मिलानको समान खेलबाट ६९ अंक रहेको छ । ५ खेल बाँकी हुँदा १७ अंकको अग्रता लिएपछि इन्टरलाई उपाधि जित्न सहज भएको हो । अब बाँकी सबै ५ खेलमा इन्टर पराजित हुँदा पनि उपाधि उसकै हुने छ ।

सोमबार राति एसी मिलानविरुद्ध जित दिलाउन इन्टरका फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले एक गोल गरेका थिए । एसी मिलानका लागि फिकायो तोमारीले सान्त्वना गोल गरे । १८ ओं मिनेटमा बेन्जामिन पाभार्डको सहयोगमा एसर्वीले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा एक गोल थप्दा अर्को गोल भने व्यहोरे पनि नतिजा उसकै पक्षमा गएको थियो । ४९ औं मिनेटमा थुरामले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा तोमारीले गोल फर्काउँदै एसी मिलानको अग्रता कम गरे पनि अन्ततः इन्टर मिलान नै २–१ गोल अन्तरले विजयी भयो ।

अन्तिम केही मिनेट भने तीन खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । जसमा एसी मिलानका दुई र इन्टर मिलानका एक खेलाडी रहे । एसि मिलानका थियो हर्नान्डेज र इन्टरका डेन्जेल डम्फ्रिजले एकै साथ रातो कार्ड पाएका थिए । उनीहरुले झगडा गरेपछि रातो कार्ड पाएका हुन् । यस्तै, इन्ज्योरी समयको सातौं मिनेटमा एसी मिलानका डेभिड क्यालाब्रिजले पनि रातो कार्ड पाउँदा ९ खेलाडीमा समेटिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ४६ बजे