Logo

समाचार

सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीको दाबी पेस



काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन् ।

माओवादी केन्द्र, एमाले, रन्जिता चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि समर्थन गर्न संघमा एमालेले अलमल गर्दा सत्ता समीकरणमै संकट आउने संकेत देखिएको थियो । एकीकृत समाजवादीले दिएको समयसीमामा एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भए लगत्तै सरकार गठनको बाटो सहज भएको हो ।

सोडारीले  बिहीबार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

यसअघि नागरिक उन्मुक्तिमा दुई प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा पेस गरेको दाबी प्रदेश प्रमुख मियाँले खारेज गरिदिएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ४ : ५४ बजे