Logo

Breaking News 1

नुन्दु कामीले ८० वर्षसम्म पनि नागरिकता पाइनन्, राज्यका सुविधाबाट बञ्चित



मुगु । उमेरले आठ दशक पुगेकी मुगुकी नुन्दु कामीले अझैसम्म नागरिकता पाउन सकेकी छैनन् । ३५ वर्ष पहिले श्रीमान्को निधन भएपछि बोल्न नसक्ने नुन्दुले वर्षौँदेखि राज्यको निकायलाई गुहार लगाउँदा पनि नागरिकता पाएकी छैनन् ।

नागरिकता नहुँदा उनले राज्यबाट पाउने सबै सुविधाबाट बञ्चित हुनुपरेको छ । उनले अहिलेसम्म न एकल महिला भत्ता पाएकी छिन्, न त बुढेसकाल लागेपछि पाउने अन्य सामाजिक सुरक्षा नै । उनको नागरिकता नभएकै कारण उनका छोराले पनि नागरिकले पाउने सुविधाबाट बञ्चित हुनुपरेको छ ।

मुगुको मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउकी नुन्दु कामीले ३५ वर्ष पहिले नै श्रीमान् सोनाम तेन्जिङलाई गुमाइन् । उनी पहिलेदेखि नै बोल्न सक्दिनन् । उनका दुई छोरामध्ये पनि जेठा छोला शिलाजित खोज्न जाने क्रममा १८ वर्ष पहिले नै भिरबाट लडेर बिते । आमाकै नागरिकता बनाउन दशक देखि लागेका नुन्दुका कान्छा छोरा ३२ वर्षीय योदान ग्याम्जो कामीले नागरिकता पाउने कुरै भएन ।

हाल न आमा छोराको नागरिकता छ, न त बुहारी छिमेक साग्मु कामी कै । नागरिकता नबन्दा रज्यले प्रदान गरेको सेवा सुविधा पाउन नसकेको ग्याम्जो कामीले बताए । ‘म सानै छँदा बुबाको मृत्यु भयो । उहाँको पनि नागरिकता रहेनछ । पुर्खादेखि नै हामी यही थलोमा बस्दै आएका छौं । आमा बोल्न सक्नुहुन्नँ । बिहेपछि बुवाले न आमाको बिहे दर्ता गराएछन् न नागरिकता नै छ । अहिले नागरिकता नहुँदा हामीले जति दुख कसले पाएको होलार !’ ग्याम्जोले थपे, ‘हामी पढेलेखेको छैनौँ, एउटाले यो गर भन्छ अर्कोले त्यो गर भन्छ । वडादेखि माथिसम्म पुग्यौं, तर नागरिकता बनाउनै नसकेपछि बिचमा धाउनै छोड्या हुम । आमाले ८० वर्षको उमेरमा पनि नागरिकता पाइनन् । अब त बन्छ कि !’

नागरिकता नहुँदा आमाले राज्यबाट पाउने सेवा सुविधा नपाएको गुनासो गरेका उनले आफ्ना तीन बालबालिकाको समेत जन्म दर्ता गराउन नपाएको दुखेसो सुनाए । नुन्दुको नागरिकता नहुँदा उनले पाएको दुःखलाई स्थानीयले बुझे र हाल सदरमुकाम गमगढीमा रहेको जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि प्रहरी मुचुल्कासहित आवश्यक विवरण बुझाइएको स्थानिय सोनाम तामाङ्ग लामाले जानकारी दिए ।

सो बारे वडाध्यक्ष दाना साङ्ग तामाङ्ग भन्छन्, ‘ बिगतका वर्षहरुमा के के भयो मलार्इं थाहा भएन । तर, म वडा अध्क्षय भएदेखि यो नागरिकताविहीन परिवारलाई जसरी पनि नागरिता दिलाउन गहनरुपमा उहाँहरुको बारेमा हामीले बुझेर वडा र प्रहरी चौकीको सिफारिस लिएर म आफँै जिल्ला प्रसासन कार्यालयमा गएको थिएँ । हामी नागरिकता दिलाउन लागिपरेका छौं ।’

आठ दशकसम्म नागरिकताविहीन नुन्दुबारे जिल्ला प्रहरी कार्यालय, निर्वाचन कार्यलय लगायतमा भएका अभिलेखबारे अनुसन्धान गरिरहेको र सो बारे विवरण पुष्टि हुनासाथ आफूहरुले नागरिकता उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ९ : ४६ बजे