Logo

मुख्य समाचार

प्राज्ञिकहरूले दिए प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद, ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’



काठमाडौँ। प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गरे । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताए ।

देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उनले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा गौरीशङ्करलाल दास, डा गोविन्द पोखरेल, डा सन्दुक रूइत, डा अर्जुन कार्की, डा जेपी अग्रवाल, डा नरेशमान बज्राचार्य, डा असीम ढकाल, डा भगवान कोइराला, डा विष्णु उप्रेती, डा धर्मकान्त बास्कोटा, डा देवेन्द्रराज पाण्डे, डा लवदेव अवस्थी, डा मदन उपाध्याय, डा महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : ४६ बजे