Logo

शिक्षा

त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाल नियुक्त


३० चैत्र २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्राडा केशरजंग बरालले दुवै जनाको नाम सिफारिस गरेका थिए । तर, कुलपतिले सिफारिस गरिएका व्यक्तिहरूलाई नियुक्त गर्न रोकेका थिए । 

चौतर्फी दबाब तथा उपकुलपति बरालको अडानपछि कुलपति प्रचण्डले दुवै जनालाई नियुक्त गरेका हुन् ।  उपकुलपति बरालले सिफारिस गरेर पठाएका नामहरू रोकेर कुलपति प्रचण्डले सत्तारूढ दल नेकपा एमालेसँग छलफल थालेका थिए ।

नेकपा एमाले अर्को नाम सिफारिस गर्नुपर्ने भन्दै आपत्ति जनाएको थियो । जसले गर्दा प्रचण्डले नियुक्ति गर्न सकेका थिएनन् ।

नियुक्त भएका केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

नेकपा एमाले र नेपाली कांग्रेसले दुवै जनाको नाममा असहमति जनाउँदै आएको थियो । कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले अध्यक्ष जगत तिमिल्सिना र एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले अध्यक्ष प्राडा वेदराज केसीलाई बनाउन दबाब दिँदै आएका थिए ।

प्रचण्ड समेत सिफारिस गर्नुअघि आफूसँग कुनै छलफल नगरेको भन्दै उपकुलपति बरालसँग असन्तुष्ट थिए । त्यही क्रममा एमाले र कांग्रेसले समेत असन्तुष्टि जनाएपछि कुलपतिले नियुक्ति ‘होल्ड’ गरेका थिए ।

उपकुलपति बरालले रेक्टर र रजिष्ट्रारका लागि बायोडाटा माग गरेका थिए । त्यसमा ११० जना प्राध्यापकले आफ्नो बायोडाटा पठाएका थिए । तीमध्ये २ जनाको नाम सिफारिस गरेका थिए । तर, प्रचण्डले रोकेर राखेका थिए ।

आफूले पठाएको नाम नियुक्ति नगरेपछि उपकुलपति बरालले घुर्की लगाएका थिए । उनी विश्वविद्यालयमा नगई एक साता लामो बिदामा बसेका थिए । अन्ततः कुलपतिले सिफारिस गरिएकै व्यक्तिहरूलाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : ३२ बजे