Logo

विशेष

मायाघरकी एक नारीको जीवनकथा


२० चैत्र २०८०, मंगलबार  

3.7k
Shares

विगत लामो समयदेखि दु:ख  संघर्षमा जीवन  व्यतित गरिरहेकी सुमित्रा को जन्म बि.स. २०५४ साल श्रावण महिनाको १३ गते जनकपुरमा भएको थियो। जब उनले घरको जेठी सन्तानको रुपमा जन्म लिईन्, त्यसको केही समय वित्दा नवित्दै उनको पिताले घर छोडेर जानुभयो, तत्पश्चात उनी  पिताको माया वाट वन्चित भईन् । आमासँगै आफ्ना दिनहरू व्यतित गर्दै गइन्, सानै उमेरमा उनलाई यस्तो वज्रपात भयो कि उनको एउटा हात प्यारालाइसिस भयो, हात प्यारालाइसिस भएपछि वाल्यकाल नै ज्यादै कष्टदायक वन्दै गयो ।

कयौ चोट र जिन्दगीको अप्ठ्यारा खुड्किलो चढ्दै कठिनाईहरु सँग सामना गर्दे जीवनको मध्य विन्दु यानकि किशोरावस्थामा प्रवेश गरिन् । करिव १८ लाग्दा नलाग्दै आफुलाई दु:ख संघर्षमा सहारा हुन्छ भनेर एक विवाहित पुरुषसँग सम्बन्ध गाँसिन्  जसको पहिला नै विवाह भएको थियो, र उसको श्रीमतीको चेस्ट क्यान्सरवाट मृत्यु भएको थियो, ।  एक हात प्यारालाइसिस भएकै कारणले मैले आफुसँग यस्तै मान्छे मिल्छ भनेर सम्बन्ध जोडेको उनी बताउँछिन्। जनकपुरकी सुमित्रा विवाह पश्चात आफ्नो श्रीमानको सहारामा भारतको सितापुर मा वस्न थालिन् ।

श्रीमानको अपार माया वाट थप हौसला बटुल्दै गईन् केही समयको अन्तरालमा उनले सन्तानको रूपमा छोरालाई जन्म दिइन्, छोरा जन्मेपछि थप हौसला खुसी मिल्दै गयो, तर विडम्बना करिव छोरा ३ वर्षको हुदै गर्दा उनको श्रीमानको क्यान्सर वाट मृत्यु भयो, श्रीमानको मृत्युपश्चात उनीमा पलाएका खुसी आशाहरू एकाएक विलाउन् थाले, तर उनमा एउटा जिम्मेवारी थियो कि आफ्नो छोरालाई कुनै हालतमा राम्रो शिक्षा दिने, छोराकै अनुहार हेरेर भएपनि उनले भारत छोड्ने विचार गरिन् , तत्पश्चात उनी भारतबाट नेपालगन्ज आईन् , आफ्ना भन्ने कोही थिएनन्  तर कोही नहुनेको भगवान् हुन्छन् भनेझैं उनलाई चिनजानका मान्छेले वास दिए, वास त भयो तर छोराको भविष्य, छोरालाई पढाउँछु काम गर्छु भन्ने हुटहुटी उनमा नभएको पनि होईन् तर स्वार्थी दुनियाँ एउटा हात नचल्ने मान्छेलाई काम दिन्छु भन्ने कोही भएनन् । काम खोज्दा खोज्दै दिन वित्थ्यो तर काम पाईएन् ।

करिव ३ बर्षको नेपालगन्ज बसाई पश्चात छोराकै भविष्यको खातिर उनी  इटहरी आईन् । इटहरीमा आएपछि उनलाई समाजसेवीहरुको सहयोगमा मायाघर लगियो ।त्यस ताका उनले आफ्नो आमालाई पनि गुमाइसकेकी थिईन् । मायाघर बेसहारा, अपाङ्गता र अवस्था नाजुक भएको व्यक्तिहरूको स्याहारसुसार को निमित्त खोलिएको संस्था हो। मायाघरमा त्यस्तै व्यक्तिहरूको वसाई भएको कारण र आफ्नो छोराको भविष्य अन्योल देखेपछि उनले छोराको शिक्षा देखि हर कुरामा राम्रो हुने र भविष्य सुरक्षित हुने तवरले वालआश्रममा राख्ने निर्णय गरिन् । अहिले उनी माया घरमै वसेर गुजारा चलाइरहेकी छिन् , सुमित्रा भन्छिन् ” मायाघरमा प्रवेश गरेदेखि जीवनमा परिर्वतन देख्न थालेको छु, परिवार पाएको अनुभव गरेको छु, ।” अहिले सुमित्रा त्यहाँ भएको शारीरिक रूपबाट अशक्तहरूको सहारा बनेकी छिन् ।

सुमित्रा को विगत जीवन संघर्ष र कष्टले भरिएको थियो, तर आज माया
घरको मद्दतले उनमा थप साहस, हौसला, र उर्जा देख्न सकिन्छ। भनिन्छ नी एकपटक  सवैको जीवनमा समस्याले पछ्याएको हुन्छ तर समस्या सँग जुध्न सके फेरी जिन्दगीमा नयाँ खुसी र उमंग छाउनेछ । सुमित्रा को विगतको मिहिनेत र संघर्षले आज उनको जिवनमा थप खुसीका रंगिन संसारले वास गरेको छ।

यो कथा सुमित्रा तामाङको वास्तविक र प्रेरणादायी कथा हो , जसले हरेक असहाय, अपाङ्ग,र दु:ख कष्टमा होमिएका व्यक्तिहरूलाई जिवनमा केही गर्न सकिने रहेछ भनेर थप हौसला, साहस र उर्जा दिनेछ ।।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : २१ बजे