Logo

मुख्य समाचार

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ : नवनियुक्त मन्त्री मगर



मकवानपुर । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । मंगलबार बिहान उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ दिलाएका हुन् ।

मन्त्री आलेलाई एक हप्ताभित्रै जिम्मेवारी दिने मुख्यमन्त्री जम्मकट्टेलले प्रतिबद्धता जनाएका छन् । यद्यपी विना विभागीयको शपथ लिएकी आलेले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी छन् । शपथ ग्रहण पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘काठमाडौं क्षेत्र नं–१० प्रदेश ‘ख’ को नागरिकले मलाई कामयावी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयावी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु । मैले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँनुपर्छ ।’

भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी उनले आफूलाई मुख्यमन्त्रीले सो मन्त्रालयको जिम्मेवारी दिने मौखिक सहमती भएको बताएकी हुन् । नवनियुक्त मन्त्री आले काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ४४ बजे