Logo

ग्यालेरी

वनको डढेलो बस्तीमा सल्किँदा १७ घर जले (तस्बिरहरू)



तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन् ।

गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राति अबेर मात्रै नियन्त्रणमा लिए । आगलागीमा परेर १७ घर र दुई वटा गोठ जलेको गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले जानकारी दिए ।

उनका अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् । दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएपनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ ।

सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । आगलागीले नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको र पीडितहरूलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले बताए ।

आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम राई, अश्विनकुमार राई, कृष्णबहादुर घतानी, धनप्रसाद राई, कल्पना राई, सुकबिर राई, जयकुमार घतानी, मनप्रसाद राई र जयमान राईको घर जलेको छ । घर जलेपछि उनीहरू विस्थापित भएका छन् ।

त्यस्तै, हाल मान्छे नरहेका सरस्वती राई, डम्बरबहादुर घतानी, बिर्खबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, लाइनबहादुर थापा, तिलबहादुर थापा र सेरबहादुर बुढाथोकीको घरमा पनि आगोले क्षति गरेको छ । पुर्वी पहाडमा बसाइँसराईले गाउँ रित्तिदै गर्दा गाउँको जग्गाजमिन र घर बिक्री नभएका कारण मानिसहरूले छिमेकीलाई जिम्मा छोडेर तराईतिर बसाइँ सर्नेक्रम रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ५२ बजे