Logo

Breaking News 1

प्रदेशमा गठबन्धनको हलचल : धमाधम मन्त्री हटाइदै


२२ फाल्गुन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । केन्द्र सरकारको सत्ता गठबन्धन परिवर्तन भएर नयाँ सरकार बन्दै गर्दा प्रदेशहरुमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । प्रदेश सभाको अंकगणित अनुसार मुख्यमन्त्रीहरुले नयाँ गठबन्धनमा सहभागी दलका प्रतिनिधिहरुलाई सरकारबाट धामधम हटाउन थालेका छन् । केही प्रदेशमा मुख्यमन्त्रीकै राजिनामा माग्न थालिएको छ ।

सुदूरपश्चिम
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माल बर्खास्तमा परेका छन् । मुख्यमन्त्री शाहले केन्द्रको सत्ता गठबन्धन परिवर्तन भएअनुसार नै आफूले मन्त्रीहरु हटाएको आज सम्वाददाताहरुसँग बताए । खाली भएका मन्त्रालय उनले आफैं जिम्मा लिएका छन् । सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार बनेको थियो ।

गण्डकी
गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । आज बिहान उनले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैंले राखेका छन् । ६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

कर्णालीको कथा
कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले आजै केहीबेर अघि पत्रकार सम्मेलन गरेर राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

कोशी प्रदेश
कोशी प्रदेशमा पनि केन्द्रको गठबन्धन परिवर्तनको असर देखिन थालेको छ । एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीको राजिनामा माग्न थालेका छन् । तर त्यहाँ अहिलेसम्म कसैको राजिनामा आउने र सरकार छाड्ने निर्णय गरेको खबर प्रकाशमा आएको छैन । मुख्यमन्त्री कार्की नेपाली कांग्रेसलाई प्रतिधित्व गर्छन् । मुख्यमन्त्री कार्कीले केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि आफू नेतृत्वको सरकारलाई असर नगर्ने बताउका छन् । सरकार गठनको अन्तिम विकल्पका आधारमा आफू मुख्यमन्त्री बनेको स्पष्ट पार्दै कार्कीले संवैधानिक रुपमा यो सरकार नै रहिरहने दावी पनि गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : २६ बजे