Logo

समाचार

हरेक किसानले मौसमबारे अनिवार्य जानकारी लिनुपर्छ : मौसमविद् डा.विनोद पोखरेल


११ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

हिउँदयाममा औसतभन्दा धेरै वर्षा हुने मौसमविदको मौसम पूर्वानुमान यो वर्ष असफल भयो । हिउँदमा बढी पानी पर्नुको साटो त्यसको विपरित निकै कम पानी परेर टरेको छ । न त समयमै चाहिनेजति वर्षा भयो न त सिजन अनुसार हिमपात पर्याप्त मात्रामा भयो । यसको मारमा आम किसान र हिमाली क्षेत्रका मानिसहरु परेका छन् ।

यसो हुनुको मुख्य कारण भने जलवायु परिवर्तन कि अन्य कारण भन्ने विषय बहसमा छ । के जलवायु परिवर्तनसँगै अन्य कारकतत्वले यसमा भुमिका खेलेको छ ? किन मौसमविद्को हिउँदे वर्षा मौसम पूर्वानुमान अनुसार असफल भयो ? अबको मनसुन कस्तो हुन्छ ? यी विविध विषयमा मौसमविद एवं त्रिभुवन विश्वविद्यालयका जलवायु तथा मौसम विषय प्राध्यापक डा.विनोद पोखरेलसँग कुराकानी गरेका छौं ।

यो वर्ष हिँउदमा औसत भन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको थियो तर त्यसको विपरितको अवस्था बन्यो । विगतको भन्दा पनि सार्है न्यून हिउँदे वर्षा भयो । यसको कारण के होला ? भविष्यमा समग्र खेतीपाति र जनस्वास्थ्यमा पनि यसको प्रतिकूल असर पर्छ ?
अहिले नेपालमा यो वर्ष औसतमा कम वर्षा भएको पक्कै हो । विगत १० वर्षको हिउँदमा औसत वर्षा जति हुने गरेको थियो त्यो हेर्ने हो भने धेरै कम वर्षा भएको देखिन्छ । हिउँदमा वर्षा कम भएरै २०२१ को चैत्र-बैशाखमा डढेलोको घटना धेरै बढेको थियो ।

त्यसको मुख्य कारण हिउँदमा वर्षा कम भएकै कारणले हो र त्यो क्रम अहिले पनि निरन्तर हुने देखिन्छ ।

भविष्यमा पनि यो क्रमले निरन्तरता पाउँछ त भन्ने कुरामा संसारभरको जलवायु परिवर्तन मोडल तथ्यांकको स्थितिलाई हेर्दा के देखिएको छ । नेपालमा समग्रमा (गर्मी याममा) पानी बढी पर्ने भयो र जाडो याममा कम पर्ने नै देखाएको छ ।

यसले प्रत्यक्ष रुपमा हिउँदे बाली र खेतीपातिलाई गर्ने देखिन्छ भने त्यो सँगै लामो समयसम्मको प्रदुषित हावा जुन छ त्यो वायुमण्डलमा रहिरहने भयो । यसले बोट विरुवा वा सिजनल बाली लगाउने र उत्पादन हुने समय छ त्यसमा पनि विस्तारै परिवर्तन हुनसक्छ । तापक्रम वृद्धि हुने र पानी पनि कम पर्ने भएकाले बालीमा असर गर्छ । त्यसको असर जनस्वास्थ्यमा पनि प्रत्यक्ष पर्ने नै भयो ।

हिउँदे वर्षा चाहीं किन कम ?
यसपाली हिउँदे वर्षा किन कम पर्यो भन्ने विषय साच्चै रोचक छ । किनपनि भने प्रायजसो मौसमको सिजनल फोरकास्ट तीनचार महिना अगाडि नै प्रक्षेपण गर्ने हो । यो वर्ष हिउँदमा नेपालमा औसत वा त्यो भन्दा केही बढी वर्षा हुन्छ भनेर प्रक्षेपण गरिएको थियो । त्यो गर्नुको कारण के थियो भने मोडलले देखाएको प्रशान्त महासागरमा एलिनो र लालिना हो ।

एलिनो(पूर्वी प्रसान्त महासागरमा औसतभन्दा बढी तापक्रम वृद्धि) हुँदा नेपालमा हिउँदमा औसतमा बढी वर्षा हुने देखिन्थ्यो । तर त्यो कुराको प्रक्षेपण पनि यसपाली मिलेन । एलिनो थियो तर वर्षा कम भयो । अर्को कारणमा मैंले आफैंले होइन अरुले गरेको अनुसन्धानमा देखेको छु ।

मेडिटेरियन सागर क्षेत्रलगायतका क्षेत्रबाट हिउँदे वर्षाको लागि जुन वाफमा पानीको मात्रा चाहिने थियो त्यो त्यहाँबाट आउने हो ।

विगत २० /२५ वर्षको आँकडा हेर्दाखेरी त्यो क्षेत्र सुख्खा हुँदै गइरहेको देखिन्छ । जस्तैः इरानमा एउटा ठूलो लेक थियो त्यो पूरै जलवायु परिवर्तका कारण सुक्यो । त्यो खालको वातावरण बनिरहेको सन्दर्भमा जहाँबाट हिउँद याममा वर्षा गराउन जुन किसिमको पानीको मात्रा भएको वाफ आउनुपर्ने हो त्यो क्षेत्र नै सुख्खा भएको हुनाले हाम्रो क्षेत्रमा हिउँदे वर्षा कम हुने गरेको हो ।

तापक्रम वृद्धि र हिउँदे वर्षा गराउने स्रोतमै आएको सुख्खापनले गर्दा यहाँ जुन किसिमको पश्चिमी वायुको प्रभाव हुने गरेको थियो त्यो भएन । यो वर्ष विगतमा भन्दा जति मात्रामा चिसो हुने गरेको थियो त्यो काठमाडौंमा हेर्ने हो भने यो वर्ष कम भएको छ ।

जाडो याममा हुस्सु र शीत परेको विगतमा देख्न पाइन्थ्यो योपाली त्यो छैन् । यसलाई जलवायु परिवर्तनकै कारणले गर्दा हो भन्न त सकिँदैन तर शहरीकरण र हिउँदे वर्षाको कमीले गर्दा पनि यो अवस्था आएको हो ।

हिजो काठमाडौंमा कत्तिको सन्तुलित रुपमा वर्षा भयो ? के पाउनुभयो यहाँले ?
हिजोको वर्षा काठमाडौंमै सन्तुलित रुपमा परेको छैन् । अहिलेको मौसम पूर्वानुमानको सबैभन्दा गाह्रो पक्ष नै यही हो ।

हामीलाई कसैले कति मिलीमिटर पानी पर्छ भनेर सोधे भने त्यो भन्न सार्है गार्हो भईराखेको छ । त्यो यहाँमात्रै होइन संसारभरी नै हो । अमेरिकामा एकदमै राम्रो सयौं मोडलहरु छन् । त्यो ठाउँमा पानी पर्छ पर्दैन भन्ने मौसम पूर्वानुमान धेरै हदसम्म मिल्छ । तर कति पानी पर्छ भनेर यकिन भन्न सकिराखेको देखिँदैन । काठमाडौंको हिजोको अवस्था पनि त्यही नै देखियो । हामी आफैंले साथीहरुको घरघरमा ‘सिटिजन्स साइन्स’ भनेर ‘रेनरेज’ राखेका छौं । त्यो हिजोको वर्षा हेर्दाखेरी गोदावरी क्षेत्रमा सबैभन्दा बढी १० देखि १२ मिलिमिटर वर्षा भएको देखियो । काठमाडौंकै उत्तरी भेगमा भने दुई मिलिमिटर भन्दा पनि कम वर्षा मापन भएको छ ।

हाम्रा हिमाली क्षेत्रमा जलवायु परिवर्तन ‘क्लाइमेट क्राइसिस’ ले ठूलो असर गर्ने भनेको सुनिन्छ । यसमा मेडिटेरियन सागर क्षेत्रमा आएको स्रोतको सुख्खापनले कत्तिको योगदान हुन्छ ?

यसको योगदान सबैभन्दा धेरै हुन्छ । हिमाली क्षेत्रबाट आउने पानीमा भरपर्ने धेरै अरु देशहरुमा पनि छन् । तर पनि नेपाल, चाइना, भारत, बंगलादेशलगायत लगभग तीन अर्ब मानिसहरु हिमाली भेगबाट आउने पानीमा भर परेको छ । हाम्रो हिमाली क्षेत्रसँग तीन अर्ब मानिसको भविष्य जोडिएको छ । सिँचाई, हाइड्रोपावर र खानेपानीमा प्रयोग हुने पानी हिउँबाट पग्लिएर आएको हो ।

पहिलो, हिउँ नपर्नु वा कम पर्नु भनेको पानीको स्रोत (मुहान) सुख्खा हुँदै जाने सम्भावना बढ्दै गएको हो । त्यसले पानीको स्रोतलाई सुकाउछ र असर गर्छ । अर्को, तापक्रम वृद्धिले गर्दा अहिले राम्रैसँग देखिएरहेको छ । पहिला जुन रुपमा जुन ठाउँसम्म हिउँ पर्ने गर्दथ्यो अहिले त्यो बढ्दै हाइ अल्टिच्यूटमा गएर हिउँ पर्ने अल्टिच्यूट नै परिवर्तन भइसक्यो । त्यसको मतलव भविष्यमा हिउँ कम पर्ने वा पर्दैनपर्ने हो भने भविष्यमा साँच्चै पानीको स्रोतमा असर गर्ने देखिन्छ ।

अहिलेको सिजनमा हिउँ कम पर्नाले यसले आगामी मनसुनलाई कस्तो प्रभाव पार्छ ?
पोहोरको वर्षको मनसुन हेर्ने हो भने जुन र जुलाई महिना एकदमै सुख्खा भएको छ । अनि अगस्टमा गएर पानी परेको छ

अहिले पनि पानी खासै परेको छैन् । विगत २०-३० वर्षदेखि एउटा कुरा परिवर्तन भएको छ । मनसुन जुन समयमा सकिनपर्ने हो त्यो भन्दा अलि पछाडि धकेलिएको छ । त्यही कारणले गर्दा पनि हो २०२१ को अक्टोबरमा पश्चिम नेपालमा भीषण पानी परेको ।

जुन बेलामा पानी चाहिने हो त्यो समयमा नपरेर नचाहिने समयमा बढी पानी परेको छ ।

मेरो विगत तीन वर्षको एउटा अनुभव यो पनि हो । हुनतः अझै यो पक्ष अनुसन्धानकै चरणमा छ । अक्टोबरमै तीन वर्षदेखि लगातार वर्षा भएको छ । कुनै महिना पुरै सुख्खा हुने, कुनै महिना भीषण पानी पर्ने कारणले गर्दा बाढी र पहिरोको जोखिम झन् बढ्दै गैरहेको छ ।

यस्तो असन्तुलनका पछाडि मान्छे कत्तिको कारक देखिन्छ ? मानिसको योगदान असन्तुलन बढाउनुमा केन्द्रित छ ?
विभिन्न संस्था र मानिसले धेरै तरिकाले अनुसन्धान गरेर हेर्दा अहिले मान्छेकै कारणले सबैभन्दा धेरै ग्रीन हाउस ग्यास उत्सर्जन धेरै हुनु प्रमुख विषय बन्यो । अर्को नेपालको अवस्थामा हेर्ने हो भने मान्छेले ग्रीन हाउस ग्यास बनाएको होइन तर मान्छेकै कारणले हाइड्रोपावर प्रोजेक्ट बनेका छन् । हाइड्रोपावर प्रोजेक्टले हाम्रो हिमाल वा पहाडमा जुन किसिमको वातावरण बनेको छ त्यहाँ खलबलाउने काम गरेको छ । त्यहाँको पारिस्थितिकीय प्रणाली, बायो डाइभर्सिटीलाई असर गरेको छ । नेपालमा जलवायु परिवर्तनको राम्रोसँग एसएसमेन्ट गरेर जलवायु परिवर्तनको असरलाई ध्यान दिएर कुनैपनि हाइड्रोपावर प्रोजेक्टहरुले गहिरो रुपमा अनुसन्धान गरेकै छैनन् । यो दुखद कुरा हो ।

अलि फरक प्रसंग, तपाइँ त्रिभुवन विश्वविद्यालय, जलवायु तथा मौसम विषय पढाउने प्राध्यापक पनि हुनुहुन्छ । यो विषय पढ्ने विद्यार्थी कति जिज्ञासु छन् ? यसको भविष्यलाई लिएर टियूको व्यवस्थापन र सरकारी निकाय कत्तिको गम्भीर देख्नुभएको छ ?
मैले त्रिभुवन विश्वविद्यालय र जल तथा मौसम विज्ञान विभागसँग सम्मन्वय गरेरै काम गरिरहेको छु । उहाँहरु पनि साँच्चिकै केही नयाँ दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । १० वर्ष पहिलेको मौसम भविष्यवाणी र अहिलेकोमा निकै अन्तर छ । यसो हुनुमा नयाँ प्रविधिको प्रयोग र सक्षम जनशक्तिको कारण पनि हुनसक्छ । टियूको कुरा गर्दा यहाँ हामीले एमएस्सी कार्यक्रममा २० जना विद्यार्थीलाई दुई सेमेस्टरमा निरन्तर पढाइरहेका छौं । पहिलाको थेसिस नसक्नेहरु समेत हेर्ने हो भने हाम्रो विभागमा ३० जना विद्यार्थी जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा छन् । अधिकांश विद्यार्थीहरु जल तथा मौसम विज्ञान विभागमा इन्ट्रस्ट भएरै आएका हुनाले उनीहरुमा मैंले जिज्ञासा देखेको छु । तर, जति मैंले सोचेको थिए त्यति भने छैन । भविष्यमा गएर यो क्षेत्रमा फरक काम गर्ने सोचाई भन्दा जागिर खाने वा विदेश जाने सोच भएको पाए ।

एक नागरिकले दैनिक रुपमा मौसमको जानकारी लिनु कति आवश्यक छ ?
दुई कारणले गर्दा एकदमै आवश्यक छ । मौसम भनेको स्वास्थ्यसँग जोडिएकै हुन्छ । एउटा भनेको मौसममा जानकारीहरु धेरै हुन्छन् । त्यो भनेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कुराहरु नै हुन् । मौसमसँगै प्रदुषण जोडिएर आउँछ । विदेशतिर कस्तो सिस्टम हुन्छ भने आज उच्च प्रदुषण छ भन्ने जानकारी दिएर मानिसलाई अलर्ट गराइएको हुन्छ । नेपालमा त्यो नभए पनि कमसेकम मौसम हेरेर बाहिर निस्किँदा राम्रो हुन्छ । नेपाल र विदेशमा एउटा फरक के भने नेपालमा मौसममा फराकिलो परिवर्तन कहिल्यै हुँदैन् ।

तर, किसानहरुलाई भने मौसमको जानकारी लिनु अझ बढी महत्वपूर्ण हुन्छ । उहाँहरुलाई एक दुई दिनको भन्दापनि एक हप्ता वा महिनासम्मको राम्रोसँग मौसम पूर्वानुमान थाहा भयो भने धेरै कुुरामा सजिलो होला । मौसम र मानिसको जीवन लगभग सँगसँगै चल्नुपर्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : ५० बजे