Logo

विशेष

एडीबीसँग सल्लाह गरेरै रकम दिएको हो : पूर्वसचिव उपाध्याय


८ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स निर्माणका क्रममा अग्रिम पेस्की प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले चार पूर्व सचिवसहित १५ व्यक्ति र तीन संस्थाका प्रतिनिधिविरुद्ध मुद्दा दायर गरेको छ । अग्रिम पेस्की रकम दिए पनि काम नगरी ठेकेदार कम्पनी सीएमसी भागेपछि त्यस सम्बन्धमा छानबिन हुँदा भ्रष्टाचार भएको पाइएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

आइतबार विशेष अदालतमा दायर भएको मुद्दामा इटालियन कम्पनी सीएमसीलाई अग्रिम पेस्की भुक्तानी गर्दा कसरी भ्रष्टाचार भयो भनेर उल्लेख गरिएको छ । अग्रिम पेस्की उपलब्ध गराउन भूमिका खेलेको भन्दै नीतिगत निर्णयमा सरिक भएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू, डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

तत्कालीन सचिव भीमप्रसाद उपाध्यायको हकमा भ्रष्टाचारको मुद्दा दायर गर्दा उनी मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा सिएमसी कम्पनीलाई ३० लाख अमेरिकी डलर अर्थात् तत्कालीन समयमा ३२ करोड २८ लाख ६० हजार रुपैयाँ अग्रिम पेस्की दिएको तर काम नगरी भागेकाले सावाँ रकम बैंक ग्यारेन्टीबाट जफत भएपनि ब्याज नआएको भन्दै ब्याज बराबरको रकम उपाध्यायसँग असुल गर्न माग गरिएको हो ।

सीएमसी कम्पनीले ३० लाख अमेरिकी डलर अग्रिम पेस्की लगेर चलाउँदा त्यस अवधिमा ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बराबरको ब्याज हुन आउने भएकाले सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको हो । अख्तियारको अभियोगपत्रमा सावाँ रकम बैंक ग्यारेन्टीबाट असुल भएपनि ब्याज असुल नभएकाले ब्याज रकम तत्कालीन सचिव उपाध्यायसँग असुल गर्नुपर्ने भन्दै भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ०७ बजे