Logo

विशेष

प्रेम दिवसको नाममा विसंगती



काठमाडौं । पश्चिमा मुलुकबाट भित्रिएको भ्यालेन्टाइन डे अर्थात विश्व प्रेम दिवस मनाउने प्रचलन नेपालमा संस्कारको रुप लिंदै गएको छ । भ्यालेन्टाइन डे मनाउने परम्परा नेपाली समाजमा झाँगिदो अवस्थामा छ । विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्टर अन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रूअरी अर्थात प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान पर्वका रुपमा स्विकार्न थालेका छन् ।

तेस्रो शताब्दीमा रोमका सैनिकहरु माथि त्यहाँका सैन्य प्रमुखले अघोषीत रुपमा विवाहमा प्रतिवन्ध लगाएपछि एक सैनिकले विद्रोह स्वरुप प्रेम विवाह गरेको प्रसंगसँग भ्यालेन्टाइन डेको इतिहास गाँसिएको छ । क्लाउडियसका पादरीले ति जोडीको विवाह जुराइदिएपछि उनै पादरीको नाम भ्यालेन्टाइनबाट यस दिनको शुरुवाती भएको इतिहास छ । भ्यालेन्टाइन पादरीको हत्या भएपछि त्यही दिनबाट भ्यालेन्टाइन डेको परम्परा वसेको इतिहासहरु पढन पाइन्छ । भ्यालेन्टाइनको हत्या पछि त्यो दिन विश्वभरका युवाहरुका निम्ति प्रेमको विजयी भएको दिनका रुपमा मनाउने परम्परा वसेको मान्यता कायम छ । रोमबाट फैलिएको उक्त प्रचलन नेपालीमा समाजमा झाँगिदै गएको हो ।

यद्यपी, यो दिवसको इतिहास जति रोचक र भावुक छ त्यक्ति नै आलोचित पनि बन्दै गइरहेको छ । इतिहास महान भएपनि आधुनिकताको नाममा छाडापन भित्रिएको छ । विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणहरुलाई छायामा राखेर बर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन् । प्रेमवादी गायक थिरज राई भन्छन्, ‘हाम्रो समाजले प्रेमलाई केटा—केटी बीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रुपमा स्विकार्दै आएको छ, यो विल्कुलै गलत छ । ‘आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान र श्रीमतिबीचको प्रेम, साथी साथीबीचको प्रेमी र पे्रमिकाबीचको प्रेम पनि प्रेम नै हो जहाँ आत्मियता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान बन्छ,’ उनले भने ।

प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ । त्यसैले संसारको सर्वोत्तम बस्तु नै प्रेम हो । तर यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेकोमा लेखक लाओस राई असन्तुष्टी जनाउँछन् । उनी भन्छन्,‘समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । प्रणय दिवसलाई वंैशले उन्माद भएका कतिपय युवायुवतीहरुले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् यस्तो गर्नु सरासर गलत हो ।’

रंगकर्मी राज शाहको विचार अलिक फरक छ । उहाँको विचारमा रोमियो जुलियट, ममताज र शाहाजन, लैला मैजुनको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको आदर्श प्रेम हो । तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आइरहेको छ । अरुप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ । उनी भन्छन्, ‘मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो त्यक्ति नै त्याग थियो भोटेको प्रेममा पनि पाइन्छ । तर समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रतिको प्रेमलाई महत्व दिएन ।’

कतिपयले प्रेमलाई गलत रुपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन् । उपहार आदनप्रदानका कारण प्रेम भड्किलो र महंगो बन्दै गएको छ । प्रेमस्वरुप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ  । प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको पूmल आदानप्रदानको संकुचित मान्यता मात्र राख्दैन ।  भ्रम यसमा छ—भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्चय पाउछन् । त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा नेपाली समाजमा असन्तुष्टी बढेको पाइन्छ ।

‘प्रेम दिवस केटा—केटीवीचको माया र प्रेम साटने माध्यम मात्र ठान्नु गलत हो ।’ कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्राउँछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव ठानिएको छ ।

आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न कुनै अवसर आवश्यक त पर्दैन् । तर पनि माध्यम अवश्य आवश्यक छ । पहिले—पहिले प्रेम प्रस्ताव राख्न विहे—बटुलो, रत्यौली, मेलामा मन परेको व्यक्तिलाई सिधै प्रस्ताव राखिन्थ्यो । तर अब समय बदलिएको छ ।

इन्टरनेट तथा डिजिटल प्रविधिदेखि ठूला सपिङ मलसम्म पाइने उपहारले प्रेम प्रस्ताव गर्न सहज बनाएको छ । इन्टरनेटको सहायताले युवा—युवतीलाई उपहार आदन प्रदान गर्न कठिन छैन् । एकदशक यता नेपालमा सामाजिक सञ्जालले प्रेम प्रस्ताव गर्न र उपहार आदनप्रदान गर्न सजिलो बनाइदिएको छ ।

आफ्नो सामाजिक सञ्जालमा ग्रिटिङ कार्ड सजाएर आफुलाई मन परेको व्यक्तिलाई प्रेमका भावना अभिव्यक्ति गर्न थालिसकेका छन् । हिजोआज युवा पुस्ता फेसबुक, ट्वीटर, मिग, गुगल प्लस लगायतका सञ्जाल मार्फत उपहार प्रदान गर्ने गर्छन् । प्रेम दिवस प्रस्तावका लागि उपयुक्त दिन मान्ने युवाहरुको संख्या बढ्दो छ ।

तर प्रेम अभिव्यक्त गर्न सामाजिक सञ्जाल भन्दा पनी बजारमा पाइने गिफ्ट आइटमहरु नै प्रभावकारी बन्ने गरेको युवाहरु सुनाउने गर्छन् ।

पहिले पहिले सामाजिक सञ्जाल र गिफ्ट आइटमहरु नहुँदा कागजको पानामा रगतले लेखेर आफ्नो भावना व्यक्त गरिन्थ्यो त्यो धेरै प्रभावकारी थियो । तर हाल आएर गिफ्टहरु नै प्रेमलाई प्रगाढ बनाउने माध्यम भएका छन् । आधुनिक प्रविधि र बदलिंदो सामाजिक परिवेशले प्रेम दिवसको जुन महत्व र सान्दर्भिकता हुनुपर्ने त्यस्तो नभइ बिसंगतीहरु बढेकोमा भने धेरैले चिन्ता ब्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३४ बजे