Logo

बागमती प्रदेश

जग्गा विकासको नक्सा सच्याउनुपर्छ : उप्रमुख डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास (गाइडेड ल्यान्ड डेभलपमेन्ट–जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनुपर्ने बताएकी छन् ।

उपप्रमुख डंगोलको अध्यक्षतामा बिहीबार पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा कार्य गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठक भएको थियो । बैठकमा उनले यसअघि फिल्ड भिजिट नगरी बनाइएको नक्सालाई सच्याउनुपर्ने बताइन । योजना कार्यान्वयन गर्ने ठाउँमा गएर वस्तुस्थिति अध्ययन गरेपछि मात्र नक्सा तयार पार्नुपर्नेमा उनले जोड दिइन ।

‘यस अघिको नक्सा टेबुलमा बसेर बनाइएको हो । यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर वस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ । यसले कार्यान्वयन योग्य नक्सा बन्छ, विकासमा स्थानीय सहभागिता बढ्छ, अपनत्व हुन्छ’ उपप्रमुख डंगोलले भनिन् ।

पूर्वाधार निर्माण र उपयोगका विषयमा सबैको विकासमा पहुँच पुग्नेगरी काम गर्नुपर्ने उनले बताइन । उनले भनिन्, ‘युनिभर्सल डिजाइनमा काम गरौं, यसबाट  पूर्वाधार पहुँचयुक्त हुन्छन् । विकास सबैका लागि हुन्छ ।’

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : ०१ बजे