Logo

बागमती प्रदेश

कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाल सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेका कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ ।

जसका लागि महानगरले एक हजार ९ सय ५० सेट फोहोर संकलन बिन राख्न लागेको छ । एउटा सेटमा दुईवटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो । स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ ।’

महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम हाँसिल गर्न  कठिन हुने भएकोले नमूनाका रुपमा महानगरको वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

महानगरले राख्न लागेको सेटहरू दुई प्रकारका हुन्छन् । पहिलो खाले सेट सानो आकारको र त्यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रतिगोटा मुल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन सार्वजनिक स्थलमा तीनसय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका दुईवटा बिन राखिनेछन् । यसमा प्रयोग हुने स्ट्याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र बिनको मुल्य ३ हजार ८९० रुपैयाँ पर्छ ।

विभागकाअनुसार यो मुल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेको छ ।

यी सेटहरू वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरूको जिम्मामा सार्वजनिक स्थानमा राखिनेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : ४१ बजे