Logo

Breaking News 1

महिलाहरुले क्यान्सरको उपचार गर्न ढिलाइ गर्दा समस्या



काठमाडौं ।  चिकित्सकहरुले महिलाहरुले प्रजनन् अंगहरुको उपचारमा ढिलाइ गर्दा क्यान्सरको जोखिम बढेको बताएका छन् । नेपालमा स्तन र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको उनीहरुको भनाई छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक एक जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताए ।

आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष दुईसय पुगिसकेको जानकारी उनले दिए ।

नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको बताए ।

महिला प्रजनन अंग भएकाले अरुलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरुको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको उनले स्पष्ट पारे।

शहरी भेगका महिलाहरुमा समेत स्तन र पाठेघरको क्यान्सरको बारेमा चर्चा गर्न लजाउने प्रवृत्ति भएको हुनाले महिला स्वयंसेविकामार्फत महिलाहरुसम्म सन्देश पु¥याउनका लागि कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले बताए ।

महिलालाई हुने क्यान्सरको स्थिति भयावह भएको पाइएपछि महिला स्वयंसेविकामार्फत यसबारे जनचेतना जागृत गर्ने र आफैले स्तन क्यान्सर परीक्षण गर्ने क्षमता प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ ।

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सहआयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपानले सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरुको संख्या वढीरहेको बताए ।

वरिष्ठ प्रशिक्षक किशोर प्रधानाङ्गले जंक फूड खाने अनि शारीरिक अभ्यास नगर्ने त्यसमाथि क्यान्सर रोगको बारेमा अरुले थाहा पाउला भनेर छलफल नहुने गरेको बताए ।

क्यान्सरको जोखिम कम पार्नका लागि शंका लाग्ने वित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्ने सन्देश स्वास्थ्य स्वयंसेविकाले घरघरमा पु¥याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

वरिष्ठ परिचारिका सीता अधिकारीले स्तनमा गाँठागुठीहरु देखिए वा दुृखेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र आफैले समय समयमा स्तनको स्वपरीक्षण गर्न आग्रह गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सरको स्वपरीक्षणका विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए ।

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपालका पूर्ण दुवालले स्वास्थ्य अधिकारको हनन् कतै भएमा र सुर्ती नियन्त्रणसम्वन्धि कानुनको पालना नभएमा उजुरी दिन आग्रह गरे ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०४ बजे