Logo

Breaking News 1

‘संसदीय क्यालेन्डरलाई पछ्याए संसद र समिति दुवै प्रभावकारी बन्छन्’



काठमाडौं । संसदको हिउँदे अधिवेशन व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक बस्नेगरी संसद सचिवालयले संसदीय क्यालेन्डर तयार गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच भएको छलफलका क्रममा सचिवालयले बनाएको सो कार्यतालिका (क्यालेन्डर)सम्बन्धमा जानकारी गराए ।

सभामुखले प्रस्ताव गरेको संसद र संसदीय समितिलाई प्रभावकारी बनाउने हेतु बनाइएको उक्त कार्यतालिकामा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीचमा सघन रुपमा छलफल भएको र त्यसमा आफूहरु सहमत भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

प्रस्तावमा संसदको आगामी बैठक र संसदीय समितिको बैठकलाई कसरी प्रभावकारी बनाउने सँगसँगै सांसदहरुलाई जनतामाझ जाने समयलाई व्यवस्थापन गर्ने विषयमा सघन ढंगले छलफल गरेको र क्यालेन्डर उपयोगि हुने गिरीले बताए । गिरीले छलफलका क्रममा सभामुखलाई केही सुझव दिएको र त्यसलाई समेटेर उक्त प्रस्तावलाई अन्तिम रुप दिने तयारी सचिवालयले गरेको जानकारी दिए ।

छलफलमा ६ दिने आलोपालो बैठक बस्नेगरी सचिवालयले बनाएको क्यालेन्डर राम्रो भएको प्रतिक्रिया कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले दिए । क्यालेन्डर अनुसार काम हुने हो भने संसद प्रभावकारी बन्ने दाबी लेखकले गरे ।
‘वास्तवमा क्यालेण्डर आवश्यक नै हो ।

अहिले प्रतिनिधि सभाको नियमावलीमा नराखी यसको अभ्यास प्रारम्भ गरौं भन्ने कुरा छ,हामी सहमत भयौं । सचिवालयले बनाएको क्यालेण्डर अत्यन्त राम्रो छ। क्यालेण्डर अनुसार हामी हिँड्न सक्यौं भने संसद निकै प्रभावकारी हुन्छ । यसले कानून पारित गर्ने कुरामा पनि सहजता हुन्छ,’ लेखकले भने ।

क्यालेन्डर पहिलो चरणमा माघ २२ गतेदेखि १५ दिनसम्मका लागि सो तालिका कार्यान्वयन हुनेगरी आफूहरुले समर्थन गरेको भनाई उनको छ । सो क्यालेन्डर कार्यान्वयन भए सांसदहरुलाई तीन दिनसम्म कार्यव्यस्थता नहुने तथा संसदमा बोल्ने विषयमा पूर्वतयारी गर्न पर्याप्त समय मिल्ने हुँदा संसदको प्रभावकारीता र सांसदका लागि समेत सहज हुने धारणा लेखकको छ ।

‘मान्य सदस्यहरुलाई कुन दिन बैठक बस्छ,त्यो दिन के बारेमा छलफल हुन्छ भनेर पूर्वतयारी गर्नका लागि पनि राम्रो हुन्छ । जुन दिन बैठक बस्दैन त्यो दिन उहाँहरुले अरु काम गर्ने कुरामा पनि सहजता हुने भएको हुनाले क्यालेण्डर संसदको प्रभावकारीताको लागि पनि राम्रो छ र मान्य सदस्यहरुको आफ्नो समयको व्यवस्थापनको लागि पनि यो उचित छ ।’

बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदीय क्याडेन्डर बनेपछि संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुने भएकाले सांसदलाई गृहजिल्ला जान समेत समय व्यवस्थापन गर्न सहज हुने बताए । उनले २२ गते भन्दा अगाडि नै क्याडेन्डरको बनिसक्ने बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ४० बजे