Logo

कोशी

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू



विराटनगर । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेअनुसार उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरिएको हो ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् ।

निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् ।

निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको औषधिसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको देवकोटाले बताइन् ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेको उनले जानकारी दिइन् ।

प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना अब कार्यान्वयनमा आएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ४ : १२ बजे