Logo

मुख्य समाचार

के हुँदैछ संसदको हिउँदे अधिवेशनमा ?



काठमाडौं । संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

संसद सचिवालय आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएको र सोहीअनुसार तयारीमा जुटेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

उनले सांसदहरुलाई बैठकबारे जानकारी गराइएको र आवश्यक थप आन्तरिक एवं प्राविधिक तयारीका कामहरु अगाडि बढाइएको बताए ।

उनले भने, ‘सभा सञ्चालन सचिवालयभित्रको मुख्य उद्देश्य तथा विषय हो । सभा नभएका बेलामा यहाँ कार्यरत कर्मचारीहरुलाई अन्य जिम्मेवारी दिइएको अवस्था पनि छ । त्यसै कर्मचारी व्यवस्थापन भइहाल्यो । त्यस्तै सभामा प्रवेश गराउने विषयसूचीको तयारीमा जुटेका छौं ।’

कुन कुन विधेयकले संसदको हिउँदे अधिवेशनमा प्रवेश पाउने कार्यसूची तयार हुँदैछ भन्ने प्रश्नमा उनले भने, ‘नीति निर्माणको एउटा प्रकृया हुन्छ । त्यहीअनुसार विधेयकहरु समितिमा जाने हो । समितिमा छलफलपछि उसले प्रतिवेदन पेस गर्छ, त्यहीअनुसार छलफल हुने भएकाले हामी अनुमानका भरमा वार्षिक क्यालेण्डर तयार गर्छौं । समितिले प्रतिवेदन के कसरी पेस गर्छ त्यहीअनुसार अगाडि बढ्छ ।’

प्रतिनिधि सभाको कुरा गर्नुपर्दा विषयगत समितिहरुमा हाल १२ वटा विधेयकहरु रहेको उनले बताए । ‘जो अहिले पनि छलफलको क्रममा छन् । समितिहरुबाट ती विधेयकमाथिको प्रतिवेदन सभामा प्रस्तुत हुन आएमा प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक सभामा प्रस्तुत भइसकेकाले त्यसमाथिको छलफल अगाडि बढ्ने उनले बताए । त्यस्तै, निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन, टीआरसी लगायतका विधेयक छलफलका प्रमुख विषय बन्ने उनको भनाइ छ ।
हाल समितिमा दर्जन विधेयक विचाराधीन छन् । अधिवेशन चालु भएपछि समितिका सभापतिले प्रतिवेदन संसदमा प्रस्तुत गर्ने र त्यसपछि पारितको प्रक्रियामा जाने संवैधानिक व्यवस्था छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, विद्यालय शिक्षा विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक सँग सम्बन्धित विधेयक समितिमा छलफलकै क्रममा छन् ।

समितिलाई छलफलका लागि समय तोकेर सीमित नगरिएकाले विधेयकहरुको चाङ छ । संसदमा टेबुल भएका विधेयकमाथि पनि सांसदहरु छलफल गर्न उदासीन देखिन्छन् ।

संसदले महत्त्वपूर्ण कानुन बनाउन नसक्नुमा सत्तापक्ष र प्रतिपक्षीले एकले अर्कालाई दोष देखाउने प्रवृत्ति पुरानै हो ।
विभिन्न बहानामा लामो समयसम्म सदन अवरोध गर्नेदेखि सूचना टाँसेर स्थगित गर्ने थिति नै बसिसकेको छ ।
संसदको दोस्रो अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।

दोस्रो अधिवेशनले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्रै पारित ग¥यो ।

२०८० कात्तिक १६ सम्म जम्मा १८० दिन सदन चालु रह्यो, जसमध्ये ६१ दिनमा ६५ पटक बैठक बस्दा २४४ घण्टा ५० मिनेट ससंदीय काम भएको संसद सचिवालयको रेकर्डमा छ । यो अवधिमा संसदले मिटरब्याज पीडितलाई न्याय दिन ल्याएको विधेयक मात्र संघीय संसदले पारित गरेको हो ।

प्रवक्ता गिरीले हिउँदे अधिवेशन सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक, निर्माण सामग्री तथा निर्माण सम्बन्धी विधेयक, आर्थिक उत्तरदायित्व तथा वित्तीय ऐनलाई संशोधन गरेको विधेयक तथा नियमावलीका अन्य कुराहरुमा नै केन्द्रित रहने बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ५ : २४ बजे