Logo

Breaking News 1

कम्पालामा दाहालको सम्बोधन : उठाए एक दर्जन एजेण्डा, जलवायु परिवर्तन र त्यसको असर सम्बोधनको प्राथमिकतामा




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा बाह्र वटा एजेण्डा उठाएका छन् । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गरेका दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई महत्व दिएरै उठाएका छन् ।

दाहालको एक दर्जन एजेण्डामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको जानकारी देखि विश्वव्यापी वित्तीय सुधारको आवश्यकता, अल्पविकसित मुलुकहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय सहयोग जुट्नुपर्ने तथा राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षा गरिनुपर्ने लगायतका विषय रहेका छन् ।

नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको,संक्रमणकालीन न्याय समाधानको बाटोमा रहेको, इजरायल–प्यालेस्टाइन दुई राज्य स्थापना गरी समाधान गरिनुपर्ने र कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन आह्वान तथा युक्रेन र गाजामा द्वन्द्वको अवस्था रहेको र नामले संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने विषय सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले एजेण्डाका रुपमा शुक्रबार प्रस्तुत गरे ।

१९ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीले सन् १९५५ को बाङडुङको अफ्रिका–एसिया सम्मेलनबाट थालिएको असंलग्न आन्दोलन (नाम) ले लामो यात्रा तय गरेको उल्लेख गर्दै आन्दोलनको नामको भूमिका अझ बलियो हुनुपर्नेतर्फ जोड दिएका छन् ।

नामले विश्वका धेरै देशका राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता र स्वतन्त्रता, प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दाहालले भने, ‘यो हाम्रो गरिमा, गौरव, ऐक्यबद्धता र सहयोगका लागि आशाको किरण बनेको छ । नामले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्व व्यवस्थाका लागि संघर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ ।’

यस्तै प्रधानमन्त्री दाहालले हिंसात्मक अतिवाद तथा युद्ध र द्वन्द्व बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले पछिल्लो शिखर सम्मेलनदेखि नै कोभिड–१९ महामारीका कारण लाखौं मानिसको मृत्यु, विस्थापन र विपन्नतालगायतका ठूला चुनौतीहरू मानवतामा आइपरेको बताए । दाहालले असंलग्नताको मूल्य र सिद्धान्तप्रति नेपालको पुनः प्रतिबद्धता रहेको स्पष्ट पनि पारे ।

नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कम्पाला गएका प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र मौसम परिवर्तनलाई महत्व दिएरै मुद्दा उठान गर्ने आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । कम्पाला जानुअघि नै दाहालले जलवायु परिवर्तन र त्यसले नेपालमा सहितहिमालय मुलुकमा पारेको असरलाई आफूले उठाउने बताएका थिए ।

शुक्रबार कम्पालाको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘हिमालहरू विश्व जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशत घर हो ।’ उनले नेपालका साथै हिमालय क्षेत्रमा जलवायु परिवर्तनको विनाशकारी प्रभावले डरलाग्दो दरमा हिउँ पग्लने र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाका रूपमा देखिएको कुरा सम्बोधनमा क्रममा उल्लेख गरेका छन् ।

‘यी हिमालहरूले सबै जीवित प्राणीहरूलाई विश्वव्यापी सेवाहरू प्रदान गर्दछ तर हिमालहरूले ठूलो समस्या भोगिरहेका छन । नेपालले हिमाल, जैविक विविधता, हिमाली भूगर्भ र त्यहाँ बसोबास गर्ने मानिसको संरक्षणका लागि वकालत गर्दै आएको छ’ दाहालले भनेका छन् । ‘हिमाली पर्यावरण, हिमाली सभ्यता र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा हितमा छ । यसका लागि म ‘नाम’का साथीहरूलाई हाम्रो आह्वान गर्दछु,’ दाहालले अपिल गरे ।

दाहालले अल्पविकसिराष्ट्रहरुलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न सहयोग गर्नका लागि समेत अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरे । प्रधानमन्त्री दाहालले विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो विकासको दृष्टिकोण र लक्ष्यहरू प्राप्त गर्न, वित्त सुरक्षित गर्न, सक्षम बनाउन ‘ग्लोबल फाइनान्सियल आर्किटेक्चर’ लाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ७ : ४१ बजे