Logo

कर्णाली प्रदेश

रारामा ६ महिनामै ६ हजारभन्दा बढी पर्यटक



मुगु । मुलुकका उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक पुगेका छन् ।
रारा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७ र सार्क तथा तेस्रो मुलुकबाट १ सय ५६ जना गरी ६ हजार ७ सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।
निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेका अनुसार दसैंतिहारको बिदामा पर्यटकको घुइँचो थियो । ‘चालु वर्षको ६ महिनामै रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले यो क्षेत्रको पर्यटकका लागि सुखद हो,’ उनले भने ।


चालु आर्थिक वर्षको ६ महिनामा पर्यटकसहित अन्य शुल्क गरि निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको छ ।
गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र तेस्रो मुलुकबाट १ सय ८३ पर्यटक आएका थिए ।
कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिएको छ।
निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुक एक हजार पाँच सय र तेस्रो मुलुकका पर्यटकबाट तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।


हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् ।
पर्यटन व्यवसायीहरूले भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन । रारा क्षेत्रमा पर्यटक आगमन बढे पनि बास बस्न सुविधायुक्त होटल भने बढेका छैनन् ।
भरपर्दो सडक, सुविधायुक्त बासको प्रबन्ध नहुँदा सास्ती हुने गरेको पर्यटकले गुनासो गर्दै आएका छन् । यसपटक जाडो मौसममा पनि रारामा पर्यटकको संख्या बढेको देखिन्छ । यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस ८ र विहान–दिउँसो माइनस ५ डिग्री सेल्सियससम्म पुग्ने रारा मौसम केन्द्रका निरीक्षक वास्मती रावलले बताए ।
रारामा यसपटक हिमपात सुरु भइसकेको छैन । सुरु भएपछि हिउँ खेल्न आउने पर्यटकहरु बढ्ने निकुन्जको अनुमान छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ४ : ५९ बजे