Logo

मुख्य समाचार

चिप्ले पहराको पानीलाई ‘मिनरल वाटर’ बनाउने तयारी



रामेछाप । सत्य युगमा भगवान् शिवले पहरोमा त्रिशुलले छेंडेर पानी निकालेको कथा धर्मशास्त्रमा बाक्लै आउँछन् ।
ती त सत्य युगका कथा भए, अहिलेको युगमा पनि त्यही सत्य युगको कथालाई प्रमाणित गर्ने एउटा पानीको मुहान छ । चिप्ले पहराको पानी ।

रामेछापको खाँडादेवी गाउँपालिका–७ खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बाको संगमस्थलमा अग्लेश्वरी नामको चट्टानी पहाड छ । बिहान सूर्योदयदेखि सूर्यास्तसम्म एकनासले घाम लाग्ने सुक्खा पहरो । त्यही पहरोको कापमा खाँडादेवी गाउँपालिकापट्टी करिब दुई हजार मिटर उचाइमा छ चिप्ले पहरोको पानी मुहान । सबैतिर सुक्खा छ, तर पहराको कापबाट अनवरत पानी निस्किन्छ । ठ्याक्कै महादेवले त्रिशुलले खोपेर पहरो छेडेर पानी निकालेको जस्तो ।

वर्षा होस् वा हिउँद एकनासको पानी आउँछ । ‘वर्षमा ठूलो हुने, हिउँदमा सानो हुने होइन, बाह्रै महिना एकनासको पानी निस्किन्छ, न वर्षामा बढ्छ, न हिउँदमा घट्छ’, स्थानीय धनराज तामाङ भन्छन् । पहरामा दुई ठाउँबाट पानी निस्किएको छ । सो पानी स्थानीयले गाउँमा लगेर पिउने गरेका छन् । स्थानीयले धुस्कोट र ताल्दुङ गाउँमा लगेर सो पहरोको पानी पिउने छन् ।

पहराको बिचबाट निस्किएको सो मुहानको पानी शतप्रतिशत मिनिरलयुक्त हुनसक्ने खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । उक्त स्थानको पानी परीक्षणको लागि पठाउने र मिनिरलयुक्त पाइए मिनरलवाटर बनाउन प्रयोग गर्ने उनले बताए ।

‘शैलुङको जडीबुटी र रुखका जरा रसाएर खनिज मिसाई पहरो छेंडेर आएको यो पानी शतप्रतिशत मिनिरलयुक्त हुनुपर्छ, प्रयोगशालामा परीक्षण गर्न लगाएर त्यहाँ भएका मिनरलको परीक्षण गर्न लगाउँछौँ’, उनले भने ।

अहिले गाउँमा गइरहेको पानी केही मात्रामा प्रयोग भएपनि अधिकांश समय त्यतिकै नाश भएर गइरहेको श्रेष्ठले बताए । ‘एउटा गाउँलाई मात्र किन, यो पानी बोतलमा राखेर बजारमा पठाउने हो भने देश विदेशमा मिनरल वाटर पुर्याउन सकिन्छ, नास भएर गएको पानीलाई आम्दानीको राम्रो स्रोत बताउन सकिन्छ’, श्रेष्ठले भने ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  २ : २५ बजे