Logo

विशेष

ओलम्पिक कमिटीसँग चिनिया प्रतिनिधिको शिष्टाचार भेट



काठमाडौं । चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेको छ । सातदोबाटोस्थित कमिटीको प्रधान कार्यालयमा भएको भेटमा दुई पक्षबीच सहयोग र सहकार्यको आदान प्रदान गर्नेबारे छलफल भएको थियो । चेचियाङ प्राप्तको प्रमुख सहर हाङचाउले हालै मात्र एसियाली खेलकुदको आयोजना गरेको थियो ।

त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हाङचाउले सफलतापूर्वक एसियाली खेलकुदको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै चीनले नेपाली खेलकुदको विकासमा लामो समयदेखि लगातार सहयोग गर्दै आएको बताए । चिनिया प्रतिनिधि मण्डलका प्रमुख चेङ याउले एसियाली खेलकुदमा नेपालको उत्साहबर्ढक सहभागिताका लागि धन्यवाद व्यक्त गरे ।

सहभागितको आधारमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा आयोजना भएको हाङचाउ एसियाली खेलकुदलाई अहिलेसम्मकै सफल मानिएको छ । त्यस प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो । याउ हाङचाउ एसियाली खेलकुद आयोजना कमिटीका उप–सचिव हुन् । यस्तै उनी चेचियाङ प्राप्तको खेलकुद ब्युरोका निर्देशक समेत हुन् ।

उनले आफ्नो प्रान्त नेपालीको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताउँदै दुई पक्षबीच प्रतियोगिता र प्रशिक्षणका लागि खेलाडी आदान प्रदान गर्ने प्रस्ताव पनि राखे । उनले आफूहरू नेपालमा ड्रायगन–बोट खेलको प्रवर्द्धन र विकास गर्न पनि तत्पर रहेको बताए । दक्षिण चीनमा यो खेल निकै लोकप्रिय रहेको र चीन अहिले यसको प्रचार प्रसारमा रहेको छ ।

चिनिया प्रतिनिधि मण्डलमा चेचियाङ कलेज अफ स्पोर्टसका डिन मेङ ग्वालियाङ, चिनह्वा म्युनिसिपालिटी ब्युरो अफ स्पोर्टसका सचिव हे चिचुन, लिसुइ स्पोर्टस डेभलपमेन्ट सर्भिस सेन्टरका निर्देशक हाङ योङह्वा र चेचियाङ कलेज अफ स्पोर्टसका उप–निर्देशक टोङ युकोङ समावेश रहेको थियो । त्यस अवसरमा ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी पनि उपस्थित थिए । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : १८ बजे