Logo

राजनीति

उद्योगहरु अप्ठ्यारोमा परेका बेला सरकारले विद्युत लाइन काटेको भन्दै ओलीको असन्तुष्टि



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरु आफै बन्द भइरहेको अवस्थामा विद्युत लाइन काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्यमी व्यवसायीहरु तड्पिरहेको अवस्थामा सरकारले विद्युत कटौतीको काम गर्न नहुने भन्दै सम्झौताबमोजिम काम गर्न आग्रह गरे ।

उनले भने, ‘उद्योगहरु बन्द हुँदै छन् । झन् विद्युत लाइन काटेर उद्योग बन्द गर्ने, समस्यालाई संवादमार्फत् नटुङ्गाउने, लिने र दिनेको बीचमा सरकारले सम्बन्धित निकायहरुसँग बसेर तथ्य प्रमाणका आधारमा खपत गरेको विद्युतको महशुल लिने, खपत गरेको छैन भने नलिने गर्नुपर्नेमा सम्झौताएकातिर छ अर्कोतिर सरकारले पैसा हामीसँग भएन भनेर सम्झौताविपरीत काम गर्न भएन ।’

उनले सरकारले खपत नभएको र बिल नभएको विद्युतको पनि असुली गर्न लागेको आरोप लगाएका छन् ।

उनले भने, ‘अहिले पनि देशमा कतिपय समस्याहरु छन् । अहिले डेडिकेटेड लाइनसम्बन्धी कुरा चलिरहेको छ । डेडिकेटेड लाइन उद्यमी व्यवसायीहरुका लागि छ । पुरानो कुरा, बिलमा नभएको कुरा सरकार असुल गर्न खोज्दै छ । त्यो कसरी असुल गर्ने ? डेडिकेटेड लाइन त जोड्यो तर लोडसेडिङ गरेर, लाइन जोडेर मात्र त विद्यतु खपत हुँदैन ।’

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ३२ बजे