Logo

राजनीति

को होला दोस्रो वर्षको प्रधानमन्त्री?



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’ दिएर सुरु गर्ने नवीन सोच सार्वजनिक गरेका छन्। ‘नयाँ धक्का’ को परिभाषा नगरे पनि प्रधानमन्त्री दाहालले यसलाई क्रमभंग कै नयाँ संस्करण जस्तो अर्थमा बुझे पनि हुने सुविधा दिएका छन्। क्रमभंग उनैले प्रचलन गरेको राजनीतिक फर्मूला मानिन्छ। ‘नयाँ धक्का’ मा जनताबाट साथ पाउने विश्वास प्रधानमन्त्रीको छ।

राजनीतिक रुपमा सचेत मानिने कोशी प्रदेशको सुन्सरी पुगेका प्रधानमन्त्री दाहालले इनरुवा सबस्टेशनको रिबिन काटेपछि उत्साहित हुँदै यसो भने– ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु, म साँच्चै क्रमभंग गर्दैछु ।’

संसदीय निर्वाचनमा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्रका अध्यक्ष हुन् दाहाल। पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेस र एमालेसँग चोइटिएर बनेको नयाँ दल नेकपा समाजवादी सहितको साथ लिएर उनी वर्षदिन देखि मिलिजुली सरकारको नेतृत्व गरिरहेका छन्।

तीन दिनपछि ९ पुसमा दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा गर्दैछ। दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकार सञ्चालन हुनेछ भन्ने सन्देश दिन पनि दाहालले नयाँ धक्काको तुरुप फालेका हुनसक्छन्। अर्को वर्ष पनि दाहाल नै सरकारको नेतृत्वमा रहिरहलान् भन्ने कुनै निश्चित आधार त देखिएको छैन। तैपनि उनले वर्षदिनको पात्रो पल्टाउँदै आफूले भ्रष्टाचार विरुध्द जेहाद नै छेडेको दावी गर्दै चर्चित ठूला भ्रपटाचार काण्डको छानविन गर्न आयोग र समिति बनाउन पछि नपरेको देखाउन उनी डटेका छन्। अवैध सुन तश्करी, नक्कली शरणार्थी काण्ड र एनसेल शेयर बिक्री प्रकरणमा प्रधानमन्त्री दाहाल केही प्रखर भएर प्रस्तुत पनि भैरहेका छन्।

सरकार दाहालकै नेतृत्वमा अघि बढिरहन्छ कि सत्ता समीकरणले कोल्टे फेर्छ भन्ने प्रश्नले उचित जवाफ पाउन सकिरहेको छैन। नेपाली कांग्रेसभित्रको प्रतिपक्षी बेञ्चबाट सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने स्वर गुञ्जिएको छ। वरिष्ठ नेता शेखर कोइरालाले नै दाहाल नेतृत्वको सरकारको कार्यकुशलामाथि धावा बोलिसकेका छन्। माओवादीे नेतृत्वको सरकारको समर्थक बनिरहे नेपाली कांग्रेस झनझन कमजोर हुँदैजाने कोइरालाको तर्क रहेको छ।

सभापति शेरबहादुर देउवाले पनि दाहाललाई नै समर्थन दिईरहने कि नयाँ विकल्प सोच्ने भन्ने बारेमा यतिञ्जेल कुनै प्रतिक्रिया दिईसकेका छैनन्। महामन्त्री गगन थापाले वरिष्ठ नेता कोइरालालाई नेपाली कांग्रेस संसदीय दलको नेतामा अघि सार्ने भनाई सार्वजनिक गरेर सभापति देउवालाई तर्साईदिएका छन्। तर थापाको यो भनाईको अन्तर्य आगामी महाधिवेशनसँग सम्बन्धित रहेको आँकलन पनि गरिएको छ। नेता कोइरालालाई दलको नेतामा रोक्न पाए भावी सभापतिको उम्मेदवारीमा आफ्नो दावी बलियो हुने थापाको मनोकांक्षा हुनसक्ने विश्लेषण गरिएको छ। यसर्थ पनि सरकारको नेतृत्व माओवादी अध्यक्ष दाहालले पाईरहन्छन् भनेर विश्वास गरिहाल्ने बलियो आधार देखिँदैन।

प्रसंग प्रधानमन्त्री पदमा दाहालको नेतृत्वको निरन्तरता रहला कि नरहला भन्ने नै छ। दाहालले केही दिन अघि पार्टीका कार्यकर्ताहरु माझ अर्कै शब्दावली प्रयोग गर्दै भनेका थिए– ‘मेरो नेतृत्वको सरकारले एक वर्ष पूरा गर्नै लागेको छ। अर्को वर्ष सुरु गर्दा म गियर चेञ्ज गर्ने छु। गियर चेञ्ज गर्दा गाडी केही हुत्तिएको जस्तो पनि लाग्न सक्ला तर म गर्नेछु, जनताको साथ पाउने नै छु।’

काठमाडौंमा ‘गियर चेञ्ज’ गर्ने भन्दै गरेका प्रधानमन्त्री दाहालले नयाँ मूडमा रहेको धरान नजिक पुगेर किन ‘नयाँ धक्का’ दिएर सरकारको नेतृत्वलाई आफ्नै काँधमा रहने दावी गरे भनेर चर्चा सुरु भैसकेको छ। बिगतमा दुइवटा सरकारको नेतृत्व गर्दा खल्लो अनुभव सँगाल्दै सिंहदरबारबाट बाहिरिएका दाहालले तेस्रो पटक सरकारको नेतृत्व गरिरहँदा भने केही नवीन र जनअपेक्षा निकटका कामहरु गर्ने प्रयाश गरेको प्रतिक्रियाहरु सुनिन्छन्। खासगरी भ्रष्टाचार विरुध्दका छलफल र प्रश्नोत्तरमा संसदीय समितिमा उपस्थित भएर दाहालले संसदीय गरिमाको महत्व बढाउँदै मन्त्रीहरुसँग वर्षदिनको प्रगति विवरण माग्दै कडा निर्देशन दिएबाट पनि सानो उपलव्धिान पनि फुरुङ्ग पर्ने नेपाली समाजलाई खुशी पारेको देखिन्छ।

गत संसदीय निर्वाचनमा सहकार्य गरेको दल नेपाली कांग्रेसलाई अनपेक्षित रुपमा धक्का दिएर नेकपा एमालेसँग सत्ता सहकार्य गर्न पुगेका थिए दाहाल। तर प्रतिनिधि सभाको सभामुखको निर्वाचन सकिना साथै एमालेलाई धक्का दिएर फेरि फर्किएका थिए नेपाली कांग्रेससँग हातेमालो गर्न। राष्ट्रपति पदमा सहयोग गर्ने वाचा गरेपछि नेपाली कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा समर्थन दिएको थियो। त्यसयता दाहालले कसैलाई पनि धक्का दिएका छैनन् एकवर्षसम्म। कार्यकालको दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकार चलिरहने हो कि के हुने हो भन्ने कुरामा आफैं निश्चिन्त हुननसकिरहेका दाहालले ‘नयाँ धक्का’ नामको शब्द तुरुप फालेर राजनीतिको केन्द्रमा बहस छेडेका छन्।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैंले नदिएर धोका दिएको सार्वजनिक रुपमै स्वीकारेका दाहालले राजनीतिको पहिलो धोका आफैंलाई अफापसिध्द भएको निष्कर्ष निकाल्ने गरेका छन्। त्यसैगरी छिमेकी देश भारतलाई चिढ्याएको र सेना प्रमुख चलाएको बिषयलाई पनि उनले आफैंलाई धोका दिएको ठान्ने गरेका छन्। दाहाल राजनीतिक अवसर छिन्न धोका दिन पछि पर्दैनन् भन्ने सन्देश प्रशार भएको छ । यही धोकाको नयाँ संस्करण त होइन धक्का भनेर चर्चा सुरु भैसकेको छ। यसको सारभूत अर्थ के हो भनेर आगामी दिनहरुमा स्पष्ट हुँदै जाने नै छ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : २५ बजे