काठमाडौँ । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निस्कासन तथा बिक्री बन्द गरेको छ।
बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समयपछि डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ।
प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निस्कासन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ।
३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो।
सर्वसाधारणलाई छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रूपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो।
यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।
बैंकले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन्।
प्रतिक्रिया