काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति÷निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गर्दै ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको बताउनुभयो ।
ग्लोबल आइएमई बैंकलाई अहिलेको अवस्थासम्म पु¥याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पु¥याएको सहयोगको विशेष स्मरण गर्दै उहाँले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताउनुभयो ।
ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आजै शपथ गराउनुभएको छ ।
ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया