Logo

Breaking News 1

हक्की प्रहरी अधिकृत कञ्चन, जो पुलिसिङ सँगै गर्छिन् समाज सेवा



काठमाडौं । नेपाल प्रहरी स्कूलमा माध्यमिक तहको शिक्षिका हुँदै दुई दशकभन्दा अघिदेखि राष्ट्र सेवा समर्पित गोमा पराजुली अर्थात कञ्चन । अध्यापन गर्दागर्दै प्रहरी सेवामा आएकी उनी अहिले प्रहरी अधिकृत छिन् । नेपाल प्रहरीको संगठनभित्र उनी हक्की महिला अधिकृतका रुपमा परिचित छिन् । जिम्मेवारीको कामबाहेक समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छिन् । ड्युटी सकिएपछि उनी सामाजिक काममा खटिन्छिन् ।

प्रहरीको तलब नै कति हुन्छ र ? सरकारले दिने सुविधाले आफैंलाई खान नै ठिक्क हुन्छ । यस्तो अवस्थामा पनि उनी आफ्नो पारिश्रमिकबाट पीडित, असहायहरुलाई मद्दत गर्छिन् । ड्युटीमा आउजाउ गर्दा होस् या घरेलु कामकाजका बेला, उनी सडकपेटी तथा मठमन्दिरमा रहेका अनाथ, उपचार नपाएर भौतारिइरहेका बिरामी देख्दा सहयोग गर्न अग्रसर हुन्छिन् ।

कञ्चनले शंखमुल आश्रम सेवा, गाईमाता, आश्रम सेवा, स्वर्गद्वारी आश्रम सेवा, मुक्तिनाथ आश्रम सेवा लगायतका आश्रमहरुमा आवश्यकता अनुसारको सहयोग समय समयमा गरिरहन्छिन् । वृद्धाश्रमको भने उनी आजीवन सदस्य हुन् ।

सामाजिक काम गर्दा उनी आफूलाई पेसाबाट चिनाउन खोज्दिनन् । आफ्नो परिचय गोप्य राख्दै सेवा गर्ने उनको बानी छ । ‘समस्यामा परेका, दुःख पीडामा रहेकाहरुलाई सेवा गर्नु मानवीय धर्म हो । आफ्नो धर्म निर्वाह गरेको कुराको प्रचार गर्नु मलाई उचित लाग्दैन,’ उनी भन्छिन्, ‘त्यसैले जो कसैले सामाजिक काम गरेर समाचार बनाउने, मिडियाबाजी गर्ने जस्ता काम गरेको मलाई मन पर्दैन ।’

सबैले आफ्नो दक्षता र क्षमताले भ्याएसम्म परोपकारी काम गर्नुपर्ने उनको तर्क छ । ‘अरुको भलो चिताउने, अरुको राम्रो गर्ने मान्छेको सधैं राम्रो नै हुन्छ,’ उनी भन्छिन् ।
उनी जनावरलाई पनि उत्तिकै माया गर्छिन् । हरेक हप्ता काठमाडौंका सडक तथा विभिन्न मठमन्दिरमा रहेका जनावर तथा विशेषगरी बाँदर, गाई र कागहरूलाई उनी आहारा खुवाउने, फलफूलहरू लगेर बाँड्ने पनि गर्छिन् ।

उनको सामाजिक काममा जति लगाव छ, त्यति नै पुलिसिङमा पनि रहेको प्रहरी कर्मचारीहरु बताउँछन् । उनले लगनशील र इमान्दार प्रहरी अफिसरको छवि बनाएकी छन् ।

गौर हत्याकाण्डका बेला उनले नेपाल प्रहरी स्कूल रौतहटमा १३ सय विद्याथीलाई एउटै कोठामा राखेर एक्लै सुरक्षा गरेको तत्कालिन प्रहरी अधिकृतहरु बताउँछन् ।

तत्कालिन माओवादीले विद्यालयमा कार्यरत एक विद्यार्थीको अपहरण गरेपछि उनले अन्य विद्यार्थीहरुको सुरक्षामा एक्लै खटिएपछि उनको चौतर्फी प्रशंसा भएको तत्कालिन समयमा रौतहटमा कार्यरत प्रहरीहरु बताउँछन् ।

प्रहरी संगठनका अफिसरहरुका गलत नियत, आन्तरिक समस्या तथा चुनौतीहरुका विषयमा पनि उनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाधानको उपायहरु खोज्ने गर्छिन् । कुशल कार्यशैलीकै कारण उनी २०७६ मा नेपाल सरकारको जनसेवा पुरस्कारबाट विभूषित भएकी थिइन ।

अध्ययनतर्फ पराजुलीले एलएलवी र एमफिल गरेकी छन् । संगठनभित्र हुने भ्रष्टाचार, अनियमितताको पनि उनले विरोध गर्ने गरेकी छन् । प्रहरी अधिकृतहरुका अनुसार उनले सम्पत्ति शुद्धीकरण विभागमा हुँदा आफ्नै सिनियर अफिसरको घूस काण्ड र यूएनमा हुँदा मिसन प्रश्नपत्र बिक्री गरेको केसलाई अनेकौं चुनौतीका बीच पनि तत्कालिन आईजीपीसम्म पु¥याएर छानबिन गराएकी थिइन् ।

संगठन भित्रको गलत प्रवृत्तिका वरिष्ठ अधिकारीहरुको पनि विरोध गर्दै कारवाहीको माग गर्ने भएकै कारण उनलाई इन्सपेक्टरको परीक्षामा पटकपटक नियतबस फेल गराइएको चर्चा सहकर्मीहरु बीच नै छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : २० बजे