Logo

Breaking News 1

विश्वकप छनोटमा भोलि नेपाल र यमनबीच प्रतिस्पर्धा



काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ ।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।  नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । 

सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । 

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । यो खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ५ : ४१ बजे