Logo

विश्व

जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नरगिसलाई नोबेल शान्ति पुरस्कार



काठमाडौँ। यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो ।

इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ ।

नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणा हुनुअघि नै सीएनएनले शुक्रबार प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ ।

पटक-पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा उनी जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

नरगिसलाई १० वर्ष ९ महिना जेल सजाय सुनाइएको छ । त्यस्तै उनीविरुद्ध १५४ कोर्राको पनि सजाय सुनाइएको थियो तर मानवअधिकार समूहका अनुसार भने उक्त सजाय अहिलेसम्म दिइएको छैन । त्यस्तै उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । नरगिस मोहम्मदीको साहसिक संघर्षले व्यक्तिगत रूपमा ठूलो क्षति भोग्नु परेको एकेडेमीले जनाएको छ । उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ ।

सीएनएनका अनुसार नरगिसलाई सार्वजनिक रूपमा मानव अधिकारका पक्षमा आवाज उठाएकै कारण राज्यले यातना दिइरहेको छ । जेल भित्रबाटै जेलमा हुने यौन हिंसाका बारेमा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएको र मानव अधिकारका पक्षमा सक्रियता देखाएकै कारण नरगिसमाथि गत अगस्टमा थप १ वर्ष जेल सजाय थप गरिएको थियो । भौतिकशास्त्रको विद्यार्थी रहेकै बेलादेखि नरगिसले महिलाको समानता र अधिकारका पक्षमा आवाज उठाउँदै आएकी थिइन् । सन् २०११ मा उनलाई पहिलो पटक पक्राउ गरिएको थियो ।

इरानी जेलमा महिलामाथि हुने गरेको दमनका बारेमा ‘ह्वाइट टर्चर : इन्टरभ्युज विथ इरानियन वुमेन प्रिजनर्स’ शीर्षकमा उनको पुस्तकसमेत प्रकाशित भएको छ ।

नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर(९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

गत वर्ष इरानमा एक युवतीको हिरासतमै मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको थियो । इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको थियो । कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले पक्राउ गरेको थियो । २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको थियो ।

गत वर्ष बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । रुस र युक्रेनको मानवअधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई शान्ति तथा प्रजातन्त्रका लागि नागरिक समाजको महत्त्वलाई प्रदर्शित गरेको भन्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

पहिलो पटिक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने यही अक्टोबर ९ मा घोषणा हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : २९ बजे