Logo

मनोरञ्जन

गायक राजेश पायल राईले दिए अदालतमा श्रीमतीसंग सम्बन्ध विच्छेदको निवेदन


३२ श्रावण २०८०, बिहिबार  

1.4k
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक राजेश पायल राईले आफ्नी श्रीमती साङ्गवुङ राईसंग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाण्डौमा निवेदन दिएका छन । ऐना खवरले प्राप्त गरेको विशेष सुचना अनुसार उनले साउन २१ गते काठमाडौं जिल्ला अदालतमा सम्वन्ध विच्छेदको फिराद पत्र दर्ता गराएका हुन् ।

मिति २०८०।४।२१ गते का दिन ०८०/CP-०५९९ मा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको फिराद पत्रमा लोग्ने स्वास्नीको सम्बन्धविच्छेद गरी पाउ भनी गायक राईले निवेदन दिएका छन । ४७ वर्षका गायक राईले दुई वर्षअघि २०७८ भाद्र १ गते सामाजिक परम्परा अनुसार २२ वर्षे साङ्गबुङसंग विवाह गरेका थिए । आफूभन्दा २५ वर्ष कान्छी साङ्गवुङ संग विवाह गरेका राईले सम्वन्ध विच्छेद गर्नुको कारण भने आफु नभई श्रीमतीका कारण भएको उनले दायर गरेको फिराद पत्रमा उल्लेख गरेका छन । राई दम्पतिको सन्तानको रुपमा १ वर्षको छोरा सायारेम राई छन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १० र १८ न’ तथा मुलुकी देवानी संहिता २०७४ सम्वन्ध विच्छेद सम्बन्धी व्यवस्थाको दफा ९३,९४ (ख),(ग), ९६ तथा १०४ न’ को आधारमा निवेदन दिएका छन ।

नेपाली आधुनिक गीतका क्षेत्रमा किंगका रुपमा स्थापित राई पार्शव गायनदेखि चलचित्रका गीत गायनमा समेत उत्तिकै चर्चित रहेका छन । निकै गहकिलो स्वरका धनी राईको पारिवारिक समस्याका बारेमा बाहिर कुनै कुरा नआए पनि फिराद पत्रमा उनले श्रीमतीका कारण यो निणर्यमा पुगेको उल्लेख गरेका छन । आफु लोकप्रिय गायक भएका कारण कार्यक्रममा देश तथा विदेशका विभिन्न स्थानमा जानु पर्ने भएको हुँदा सो कार्यक्रममा मलाई चिन्ने जान्ने जो कसैले पनि हात मिलाउने र अंकमाल गर्ने गरेको हुँदा, आजकाल फेसबुक लगायत टिकटकमा मलाई चिन्नेहरुले हात मिलाएको र अंकमाल गरेको फोटो तथा भिडियो राख्ने हुँदा फेसबुक तथा टिकटकमा हेर्दा प्राय सबैले देख्ने गर्दछन र सोही फोटो हेरी विपक्षीले(श्रीमती) झै-झगडा तथा गालीगलौज गर्ने लगायतका घटना भएको कारण संगै बस्न नसकिने अवस्था आएकाले सम्वन्ध विच्छेदका लागि निवेदन दिइएको उनले दायर गएको फिराद पत्रमा उल्लेख गरिएको छ । श्रीमतीले आफ्नो श्रीमानलाई गर्नु पर्ने माया,सम्मान तथा ईज्ज्तका साटो अपशब्द र अभद्र व्यवहार गर्ने गरेको समेत सो फिराद पत्रमा राईले उल्लेख गरेका छन ।

उकाली ओलाली गर्दै, तिमिलाई रोजे मुटु भित्र राखे, संगसंगै बाच्न पाउ, छालहरु ओ छाल, नमाग मसंग, दर्शन नमस्ते लगायतका सयौं सुगम संगीतमा स्वर दिएका राईले सेन्टीमेन्टल र रोमान्सका गीत पनि उत्तिकै मात्रामा गाएर श्रोताको मन जितिसकेका छन । उनी विभिन्न टेलिभिजनबाट प्रशारण हुने विभिन्न सांगीतिक शोहरुमा निर्णायका रुपमा समेत देखिदै आईरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ३५ बजे