Logo

Breaking News 1

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गरेको कांग्रेसको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण र सम्मान गरेको दाबी गरेको छ ।

संसदबाट दुईपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयकका बारेमा भैरहेको दुष्प्रचार र संविधानको अपव्याख्याप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कांग्रेसले भनेको छ,‘नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद र संविधानको सम्मान र संरक्षण गर्नुभएको छ ।’

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपतिले संसदको सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पुरा गर्नुका साथै संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा गरेको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेसले रेशम चौधरीलाई माफी दिने सरकारको निर्णयको समेत बचाउ गरेको छ । कांग्रेसले भनेको छ,‘ज्यान मुद्धामा सजाय पाएका बालकृष्ण ढुंगेललाई एकदिन पनि सजाय नकाटी तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिँदा सञ्चो मानेर बस्नेहरू आफू घटनामा उपस्थित नै नरहेको र केवल उत्पीडन र विभेदमा परेका थारु समुदायको अधिकारको आवाजको नेतृत्व मात्र गरेका रेशम चौधरीलाई सबै राजनीतिक दलको माग अनुसार मन्त्रिपरिषदको सिफारिसमा बाँकी कैद मिनाहा गरी माफी दिँदा राष्ट्रपति संस्थामाथि नै आक्षेप लगाउँदै हल्ला मच्चाउनु कति उपयुक्त हो ?’ विज्ञप्ती जारी गर्दै कांग्रेसले थप भनेको छ,‘सत्तामा हुँदा र सत्तावाहिर रहदा फेरिने धारणा, मत र अभिव्यक्तिले दल र दलका नेताहरुकै विश्वस्निीयता कमजोर वनाउँने कुरामा सवैको ध्यान पुग्नु जरुरी छ ।’

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ४९ बजे