Logo

प्रदेश

बागमती प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने


२४ चैत्र २०७९, शुक्रबार  

207
Shares

हेटौडा । बागमती प्रदेशमा मन्त्रालय भागबन्डा टुंगो लागेको छ । गठबन्धनमा आवद्ध दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाएसँगै नियुक्तिको तयारीमा रहेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए ।

स्रोतका अनुसार बागमतीमा कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको छ । यसअघि ६ मन्त्रालय पाउनुपर्ने कांग्रेसको अडान थियो । त्यस्तै, एकीकृत समाजवादी २ वटा मन्त्रालय सहित बागमती सरकारमा सहभागी हुने भएको छ । मन्त्रालय पुनर्गठनका लागि बनेको कार्यदलका एक सदस्यका अनुसार कांग्रेसलाई ५ र एकीकृत समाजवादीलाई २ मन्त्रालयसहित भागबन्डा टुंग्याइएको हो ।

मुख्यमन्त्री जम्मकट्टेलले मन्त्री बन्नेहरु अधिकांशको नाम टुंगो लागिसकेको बताए । आर्थिक मामिला मन्त्रालयसहित यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय र अन्य एक मन्त्रालय कांग्रेसले लिने समझदारी बनेको छ । तर, कांग्रेसले मन्त्री बन्नेहरूको नामावली भने टुंगो लगाउन सकेको छैन ।

केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै बागमतीमा पनि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएको थियो । एमाले र राप्रपा बाहिरिएपछि मुख्यमन्त्री जम्मकट्टेलले गत १० चैतमा प्रदेशसभबाट विश्वासको मत प्राप्त गरेका थिए ।

तर, दलहरूबीच भागबन्डा टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । अहिले मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय जम्मकट्टेलको काँधमा छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ३६ बजे