Logo

प्रदेश

रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका यादव विजयी



जनकपुरधाम । जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मनिष कुमार यादव विजयी भएका छन् ।

सभापतिमा यादवले १ हजार १ सय ४८ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७ सय १५ मत प्राप्त गरे ।

त्यस्तै, पाँच दलीय गठबन्धनका उम्मेदवार गौतम यादव चोरवारले ३ सय ८३ मत मात्र ल्याउन सकेका छन् । उता, विद्यार्थी जनमत संघका उम्मेदवार मो. इजाज मोमिनले १ सय ६७ मत ल्याएका छन् ।

सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साह ९ सय २६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितकुमार मण्डलले ८ सय ९ मत पाए । त्यस्तै, पाँच दलीय गठबन्धनका उम्मेदवार अजय सिंह कुशवाहाले ४ सय ५३ मत मात्र ल्याउन सकेका छन् ।

कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९ सय ९८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डितले ८ सय २६ मत मात्र पाएका छन् । त्यस्तै, पाँच दलीय गठबन्धनका उम्मेदवार नीरज कुमार गुप्ताले ३ सय ९५ मत मात्र ल्याएका छन् ।

यस्तै सदस्यहरूमा नेविसंघका रोशनी कर्ण १ हजार ८, सोनु झा १ हजार ४, मुन्ना कुमार प्रधान ९ सय ९९, जितेन्द्र यादव ९ सय ८९, विकास कुमार साह ९ सय ८१, नवीन कुसियैत यादव ९सय ७८, दीपेन्द्र महतो ९ सय ७६ र अभिशेष शर्माले ९ सय ७० मत ल्याएर निर्वाचित भएका छन् ।

स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २ सय १५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६ सय ६२ जनाले मत खसाएका थिए ।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए । स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिकबाट १० जना निर्वाचित भएर चुनिएका छन् ।

त्यस्तै जनकपुरकै अर्का क्याम्पस जनकहजारीमा पाँच दलीय गठबन्धन विजयी भएको छ । जनक हजारी विद्यापीठ क्याम्पस जनकपुरधाममा पाँच दलीय गठबन्धनका उम्मेदवार सुभाष झा सभापतिमा निर्वाचित भएका छन् भने सचिवमा मीनप्रसाद पोखरेल, कोषाध्यक्षमा अमित कुमार मिश्र निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा मनिषा कुमारी कर्ण र हुकुमदेव महतो निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ४३ बजे