Logo

समाचार

परिवर्तन गाउँपालिकाद्वारा राङकोटका योजनाको अनुगमन



रोल्पा । परिवर्तन गाउँपालिकाले आफ्नो वडा भित्र रहेका बहुवर्षे योजनाहरुको अनुगमन गर्दै आएको छ । सोही अनुसार परिवर्तन गाउँपालिका–५ राङ्कोटको योजनाको अनुगमन गरिएको हो । जसमा सोमबार श्री नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय राङ्कोट मौलाबोटको भवन फिनिसिङ, घेरबार र शौचालयको अनुगमन गरिएको छ । परिवर्तन गाउँपालिकाको करिब ३० लाख बराबर रुपियाँमा निर्माण भइरहेको बताइएको छ । अर्को सोही राङ्कोटकै खरिगैरा खेलकुद मैदान निर्माण तथा मर्मतको समेत अनुगमन गरिएको छ ।प्रदेशको समपुरक बजेटको करिब १० लाख बराबरमा निर्माण भएको छ । परिवर्तन गाउँपालिकाका उपाध्यक्ष गाउँपालिका तथा वडापालिका स्तरीय अनुगमन समितिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको अनुगमनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका पूर्वाधार शाखाका सव इन्जिनियर खगेन्द्र बुढा मगर, परिवर्तन गाउँपालिकाका रोजगार शाखाका सव इन्जिनियर कबिन्द्र सुनार, परिवर्तन गाउँपालिका–६ का सव इन्जिनियर मोहन घर्ती मगर, पत्रकार सुर्य प्रकाश बुढा मगर लगायतको टोलीले अनुगमन गरेको हो ।

गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षाको अनुगमन समेत गरेको छ । सोमबार परिवर्तन गाउँपालिका–५ को श्री नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय राङ्कोट मौलाबोटको अनुगमन गरिएको हो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको नेतृत्वमा भएको परिक्षाको अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम र परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने लगायतको टोलिले अनुगमन गरेको छ । अनुगमन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले परिक्षा के कसरी सञ्चालन भइरहेको छ भन्ने प्रसंगमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले शान्त र भैरहित बाताबरणमा चलिरहेको प्रतिक्रिया दिएको थिए । आफूले पनि अनुगमन गर्दा त्यहीँ कुरा पाएको उनको भनाई छ । यो बर्ष देखि परिवर्तन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षा बनाएर सञ्चालन गरेको छ । परिवर्तन गाउँपालिकामा २०७९ को वार्षिक परिक्षा चैत २ गतेदेखि सञ्चालन भइरहेको छ ।

जनतासँग गाउँपालिका अध्यक्षको संवाद
चुनावको समयमा मात्र मतदाताहरुको घरमा जानेर चुनाव पछि जनताको घरदैलो नजाने भन्ने गुनासोलाई सम्बोधन गर्ने, चुनावमा गरेका प्रतिबद्धता, परिवर्तन गाउँपालिकाबाट सञ्चालन हुँदै आइरहेको सेवा प्रभावमा लगायत परिवर्तन गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम र बजेट प्रति बुझाई कस्तो छ र परिवर्तन गाउँपालिकाको आगामी दिनमा गर्नुपर्ने योजना प्रति सल्लाह र सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले बताएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रमको चैत २ गतेदेखि परिवर्तन गाउँपालिका–२ राङ्सीबाट सुरुवात गरेका थिए ।

सोही कार्यक्रम अनुसार सोमबार परिवर्तन गाउँपालिका–५ राङ्कोटका नागरिकहरुसँग श्री ठाकुर खोरिया प्रावि भालुकोटमा भेटघाट र गुनासो सुन्ने काम गरेर सम्पन्न गरेका छन् । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको जनता सँग गाउँपालिका अध्यक्ष कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका–५ का वडा अध्यक्ष दिल बहादुर वली, परिवर्तन गाउँपालिका–५ का वडा सदस्यहरु, वडा सचीव लगायत परिवर्तन गाउँपालिका–५ राङ्कोटका आम नागरिकहरु करिब ८९ जना भन्दा बढीको उपस्थिति रहेको थियो । साथै आम नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, मोटर बाटो, शौचालय, खेलकुद मैदान र बहुक्षेत्रीय पोषण लगायतका विषयमा जिज्ञासा राखेका थिए । सबै विषयलाई सम्बोधन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले पहिलो पाँचबर्षे कार्यकाल यो परिवर्तन गाउँपालिका–५ राङ्कोटका नागरिक सँग बिताएको र उतिबेला धेरै घुलमिल हुने गरेको बताए । पछिल्लो समयमा त्यति धेरै भेटघाट नभएको र आफू वडा अध्यक्ष हुँदा सबै टोलमा बाटो पुर्याउछु भनेको र धेरै ठाउँमा बाटो पनि पुगेको बताउदै बाँकी रहेको ठाउँमा पनि बिस्तारै पुग्ने बताए ।

साथै विकास निर्माण उपभोक्ता समितिले गर्दा झनजटिलो हुने भएकोले त्यो समस्यालाई समाधान गर्नको लागि गाउँपालिकाले आफ्नै जेसिबी खरिद गरि काम गरेको समेत बताए । शिक्षा नि:शुल्क बनाउने जिकिर गर्दै मुखमा मात्र नि:शुल्क नहुने र विद्यार्थी पनि राम्रो उत्पादन हुने उनको भनाई छ । कृषिमा पनि परम्परागत शैलीबाट नहुने भएकोले प्रविधिको विकास र नयाँ प्रविधिहरु अप्नाउनुपर्ने उनले बताए । ‘स्वास्थ्यमा पनि केही सेवा ग्राहीलाई टाढा भएको शोभाबिक भएकोले गाउँपालिकाले १५ शैया अस्पताल अहिले निर्माणाधीन अवस्था अगाडि बढिरहेको छ ।’ उनले भने, ‘खानेपानीमा पनि निर्माण भएका संरचनाहरुको संरक्षण गर्ने जिम्मेवारी पनि आम नागरिकको भएकोले सबैले ध्यान दिन जरुरी छ ।’

बालविवाहको कुरामा समेत जोडदिदै अब सबै वडामा क्रमिक रूपमा लैजाने प्रयासमा गाउँपालिका रहेको बताए । त्यस्तै युवा रोजगारका लागि युवाहरु व्यावसायिकमा जोडिनुपर्ने र युवा रोजगारका लागि अनुदानको कार्यक्रम लिएको समेत उनले बताए । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ५६ बजे